रामेछाप। रामेछाप जिल्लास्थित गोकुलगंगा गाउँपालिकाले आगामी १७ गतेसम्मका लागि अत्यावश्यकिय सेवा बाहेकका सबै सेवा बन्द गर्ने भएको छ। गाउँपालिकामा कोभिड १९ सङ्क्रमित भेटिएपछि आईतबार गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन तथा जलवायु उत्थानशील समिति/पालिका स्तरिय कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो।
गाउँपालिका स्तरिय बैठकले ६ वटा निर्णय गर्दै नेपाल सरकारले गत बैशाख ६ गते जारी गरेका आदेशहरू पूर्ण रुपमा कार्यान्वयन गराउने निर्णय गरेको छ । गाउँपालिकाभित्रका शिक्षण संस्थाहरूमा पूर्ण रुपमा पठनपाठन बन्द गर्ने तथा सञ्चालित परीक्षाका कार्यक्रमहरू पूर्ण रुपमा स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरेरमात्र सञ्चालन गर्न लगाउने निर्णय गरेको छ।
आईतबार बसेको बैठकले गाउँपालिका भित्र रहेका धार्मिक तिर्थस्थल, मठमन्दिर, गुम्बा, चर्च लगायत सार्वजनिक स्थानहरूमा जनस्वास्थ्य मापदण्ड पालना गर्ने गरी तोकिएको समयमामात्र पुजापाठ, ध्यान प्रार्थना गर्नु गराउन निर्णय गरेको छ।
कोभिड १९ सङ्क्रम नियन्त्रणका लागि गाउँपालिकाभित्र हुने बिबाह, ब्रतबन्ध, मेला, सभा गोष्ठी एवम् खेलकुद लगायत भिडभाड हुने स्थानहरूमा २५ जनाभन्दा बढी मानिसहरू भेला नहुन र एकअर्का व्यक्तिबीच २ मिटर दुरी कायम गर्ने र अनिवार्य मास्क लगाउने लगायत हातधुन सचेतिकरण गर्ने किसिमका सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।
गाउँपालिकाको वडा नं. ४ बेतालीमा कोभिड १९ सङ्क्रमित फेला परेकाले त्यहाँस्थित कलकारखाना, होटल, किराना पसल लगायत सम्पूर्ण व्यवसायहरू बाहिन ६ बजेदेखि ९ बजेसम्म जनस्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न आदेश दिएको छ।
भारत लगायत तेस्रो मुलुकबाट गाउँपालिका प्रवेश गर्दा सम्बन्धित नाकाको चेकपोष्टमा, वडा कार्यालय मार्फत गाउँपालिकाले तोकेको स्थानमा विवरण पेश गरेरमात्र प्रवेश गर्न तथा अनिवार्य होम क्वारेन्टाइन तथा आइसोलेसनमा बस्न अनुरवध गरेको छ।