काठमाडौं। वि.सं. २०७२ बैशाख १२ गते शनिबार मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.६ रेक्टर स्केलको भूकम्प गएको आज ६ वर्ष पुरा भएको छ। यस अवसरमा भुकम्पको छैठौँ स्मृति दिवस कोभिड १९ जोखिमका बाबजुद स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ।

विनाशकारी भुकम्पले ८ हजार ९७९ जनाको ज्यान गएको थियो भने २२ हजार ३ सय ९ घाइते भएका थिए। भूकम्पले करिब १० लाख निजी आवास, ७ हजार ५५३ विद्यालय, ४९ हजार ६ सय ८१ कक्षाकोठा, ५ सय ४४ स्वास्थ्य संस्थामा पूर्ण क्षति पुर्‍याएको प्राधिकरणले जनाएको छ। भुकम्पले ४ सय १५ सरकारी भवन, १ सय ७० विश्व सम्पदा क्षेत्रका सम्पदा, ९ सय २० सांस्कृतिक सम्पदा र सुरक्षा निकायका ३ सय ८३ भवनमा क्षती पुर्‍याएको तथ्याङ्क रहेको छ, भने प्राधिकरणले ३ हजार २ सय १२ खानेपानी संरचना, ५३ सडक र २ सय ९९ मानव बस्तीमा क्षति पुगेको तथ्यहरू पहिचान गरेको छ।

भुकम्पको ६ वर्ष वर्ष पुरा हुँदा करिब ७० प्रतिशत निजी आवासहरू पुन:निर्माण सम्पन्न भएका छन् । तर, पुन: निर्मित संरचनाहरू भुकम्प प्रतिरोधी भएपनि नेपाली मौलिकता अनुकुल भएको भने देखिन्न। नेपाली समाज र सगोल परिवारमा बस्नेहरूलाई यो संरचना प्रतिकुल बनेको छ।  

स्मृति दिवसको अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विनाशकारी भूकम्पले पारेका प्रभाव, त्यस पश्चात हाँसिल गरेका उपलब्धि, यसले हामीलाई सिकाएको पाठ समेटेर एक कार्यशाला गोष्ठी गर्ने भएको छ।