तस्विर: दिपक सुनुवार

खाङ्साङ। मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) फिक्कल गाउँपालिका कमिटी नेकपा माओवादी केन्द्रमा बिलय भएको छ। शनिबार माओवादी केन्द्र सिन्धलुलीको अध्यक्ष तथा बागमती प्रदेशसभा सदस्य लेखनाथ दाहाल (राजन)को प्रमुख आतिथ्य तथा  फिक्कल गाउँ कमिटीद्वारा आयोजित भेलामा वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी गाउँ कमिटी परित्याग गरी माओवादी केन्द्रमा पार्टी प्रवेश गरेका हुन्।

शनिबार बसेको भेलाले लोकन्द्र कार्कीको अध्यक्षतामा ७१ सदस्यीय माओवादी केन्द्र फिक्कल गाउँकमिटी गठन गरेको छ। कमिटीको सचिवमा शुक्र बहादुर सुनुवार चयन भएका छन् भने कमिटीको ईन्चार्जमा मुरारी भण्डारी, सहईन्चार्जमा शिव पहाडी चयन भएको माओवादी केन्द्र सिन्धुलीका सदस्य तथा नवगठित कमिटीका सचिव शुक्र बहादुर सुनुवारले जनचासो स्रोतलाई जानकारी दिएका छन्।

त्यस्तै, शनिबारको भेलाले छवि काफ्लेको अध्यक्षतामा ३५ सदस्यीय योङ कम्युनिष्ट लिग(वाईसियल) फिक्कल गाउँपालिका कमिटी गठन गरेको छ। 

भेलाले फिक्कल गाउँपालिकाका जनयुद्धका सहिदहरू लेलिन पाख्रिन, बलबहादुर राई, राम बहादुर तामङ् र ज्ञानकुमारी सुनुवारको अर्धकदको सालिक निर्माणको सिलन्यास गरेको छ। सिलान्यास प्रमुख अतिथि लेखनाथ दाहाल (राजन) ले गरेका छन् ।