झापा जिल्लामा २० हजार हेक्टर जमिनमा चैते धानखेती लगाइएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । त्यसमध्ये आठ पालिकाको ४८ बिघा जमिनमा कृषि ज्ञान केन्द्रले नै आधुनिक प्रविधिको प्रयोग गरेर परीक्षणका लागि चैते धान रोपेको जनाएको छ ।

परम्परागत खेतीभन्दा मेसिनरीको प्रयोगले गरेको खेती सस्तो र उत्पादनसमेत बढी हुने कुरा किसानलाई प्रत्यक्ष जानकारी दिने उद्देश्यले कृषि यान्त्रिकीकरण प्रदर्शन कार्यक्रमअन्तर्गत मेसिनबाट चैते धान रोपाइँ (प्रविधि प्रदर्शन) गरेको केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो ।

उहाँले यस वर्ष १२० हेक्टर जमिनमा आधुनिक कृषि यान्त्रिकीकरणको प्रयोग गरेर चैत धान रोपाइँ भएको बताउनुभयो । उहाँका अनुसार विगतमा ज्ञान केन्द्रले नमूना परीक्षणका लागि गरिएका सबै कृषि समूह र सहकारीले यस वर्ष पनि निरन्तर कृषि यान्त्रिकीकरणकै प्रयोग गरेर चैते धानखेती गरेका छन् ।

स्थानीय पालिकाहरुको सहयोगमा किसान समूहको छनोट गरी केन्द्रले विगतदेखि नै हर्दिनाथ–१ धान लगाउन प्रोत्साहन गर्दै आएको छ । उहाँले भन्नुभयो, “अन्य धानको तुलनामा राम्रो उत्पादन हुने हुँदा यही धानको बीउ रोप्न सिफारिस गर्ने गरेका छौँ ।” यो धानको बीउ राखेको दिनदेखि १२० दिनमा पाक्ने उहाँको भनाइ छ ।

यस वर्ष गौरीगञ्ज गाउँपालिका, गौरादह नगरपालिका, शिवसताक्षी नगरपालिका, कमल गाउँपालिका, बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा नगरपालिका, भद्रपुर नगरपालिका, हल्दिबारी गाउँपालिकामा कृषक समूहअन्तर्गत कृषियन्त्र प्रयोग प्रदर्शन गरिएको छ । छनोटमा परेका कृषि समूहलाई केन्द्रले धानको बीउ, बीउ राख्ने ट्रे र प्राविधिकलगायतमा सहयोग गरेको जनाएको छ ।