एखुवा खोला पक्की पुल निर्माणको काम सम्झौता अवधिभित्र सम्पन्न भएको छ । भोजपुरको हतुवागढी हसनपुर–९ र आमचोक गाउँपालिका–८ जोड्ने यो पुल कोशी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय भोजपुरको रु सात करोड ३७ लाख लागतमा निर्माण गरिएको हो । एक स्पानमा निर्माण भएको पुलको लम्बाइ ३७ मिटर रहेको छ ।

विसं २०७९ चैतदेखि निर्माण सुरु भएको यो पुलको निर्माण अवधि दुई वर्ष रहेको थियो । एखुवा खोला पक्की पुल निर्माण समय अवधिभित्र नै सम्पन्न भएको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले बताउनुभयो । पुल निर्माण सम्पन्न भएपछि सवारी आवतजावत सुरुआत गरिएको छ । “एखुवा खोला पक्की पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ”, प्रमुख रेड्डीले भन्नुभयो, “पुल सम्झौता अवधिभित्र नै निर्माण सम्पन्न भएको छ । स्थानीयले भोगेको समस्यालाई ध्यानमा राखेर निर्माणको कामलाई तीव्रता दिइएको हो ।

पुल बनेसँगै स्थानीयलाई सहजता थपिएको अवस्था छ । पुलबाट सवारी आवतजावत सुरु भएको छ ।” यो पुल ओपन फाउन्डेसन एक स्पानमा निर्माण गरिएको प्रादेशिक सडक, पुल आयोजना कोशी प्रदेशका संयोजक सूर्यनारायण चौधरीले बताउनुभयो । पुल गुणस्तरीय ढङ्गले निर्धारण गरिएको मापदण्डअनुसार निर्माण भएको उहाँको भनाइ छ । खोलाको पानीको बहावलाई ख्याल गरेर पुल निर्माण गरिएको जनाइएको छ । पुल बनेपछि दक्षिणी क्षेत्रका नागरिकलाई आवतजावतमा सहजता भएको हतुवागढी–९ हसनपुरका वडाध्यक्ष सञ्जाल राईले बताउनुभयो ।

पुल निर्माण भएर सञ्चालनमा आएपछि यहाँका स्थानीयवासीको वर्षौंदेखिको समस्या अन्त्य भएको उहाँको भनाइ छ । “यो खोलामा पुल बनेपछि स्थानीयको वर्षौंको समस्या अन्त्य भएको छ”, वडाध्यक्ष राईले भन्नुभयो, “पुल नहुँदा धेरै जोखिम थियो । बाढी आएको बेला खोला पार गर्ने अवस्था थिएन । पुल निर्माणले हतुवागढी र आमचोक गाउँपालिकाका नागरिकलाई सहजता भएको छ ।” वर्षौंबाट सास्ती भोग्दै आएको खोलामा पुल बनेपछि स्थानीयवासी खुसी भएका छन् । बाढी आएको समयमा खोलामा नै बास बस्नुपर्ने बाध्यता रहेकोमा पक्की पुल बनेपछि सहजता भएको स्थानीयवासी सन्तोषजङ्ग राईले बताउनुभयो ।

“यो खोलामा हाम्रो पालामा पुल बन्छ भन्ने साचेको थिइन्”, उहाँले भन्नुभयो, “यो खोलामा पुल नभएको कारण धेरै समस्या रहेको थियो । अहिले पुल बनेर सञ्चालनमा आउँदा खुसी लागेको छ ।” धेरै समस्याका बीच पनि पुललाई सम्झौता अवधिभित्र नै निर्माण सम्पन्न गर्न सफल भएको निर्माण कम्पनी राउत कन्ट्रसनका प्रमुख कुलबहादुर राउतले बताउनुभयो । भौगोलिक रुपमा विकटतासँगै उदयपुर र भोजपुरलाई जोड्ने दूधकोशीमा पुल नहुँदा सामग्री ढुवानीमा निकै समस्या भएको उहाँको भनाइ छ ।

“भौगोलिक रुपमा निकै विकट रहेकाले यहाँ पुल निर्माण गर्न धेरै चुनौती थियो”, प्रमुख राउतले भन्नुभयो, “सबैको साथ सहयोगका कारण समयमा नै पुल निर्माण सम्पन्न गर्न सफल भएको छु । पुल तोकिएको मापदण्डअनुसार निर्माण भएको छ ।” पुल समयमा नै गुणस्तरीय ढङ्गले निर्माण गराउन नियमित अनुगमनसँगै कार्यालयको प्रत्यक्ष निगरानी भएको पूर्वाधार विकास कार्यालय भोजपुरका इञ्जिनियर पर्शुराम शाहले बताउनुभयो ।