नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपमा दालमान अक्षयकोषद्वारा आयोजित दालमान पुरस्कार तथा सम्मान प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। स्वर्गीय संविधानसभा सदस्य दालकुमारी सुनुवार र उनका श्रीमान्, सुनुवार सेवा समाज संघीय समितिका पूर्व अध्यक्ष, लेफ्टिनेन्ट मानबहादुर सुनुवारद्वारा २०६३ सालमा स्थापित दालमान अक्षयकोषले सुनुवार जातिको भाषा, संस्कृति संरक्षण तथा प्रवर्द्धनमा कला साहित्यको माध्यम बाट योगदान पुर्याउने व्यक्तित्वहरूलाई प्रेरित गर्ने उद्देश्यले बिगत २०६४ साल देखि पुरस्कार बितरण गर्दै आईरहेको छ ।
कार्यक्रममा सुनुवार भाषाको कविता संग्रह ‘सुया’ की सर्जक तथा लेखिका तारादेवी सुनुवारलाई नगद रु. ४०,००० सहित सम्मानपत्र प्रदान गरी पुरस्कृत गरिएको छ । साथै, ख्याति प्राप्त वरिष्ठ चित्रकार टेकवीर मुखिया, वरिष्ठ नाटककार मनबहादुर मुखिया, अन्तर्राष्ट्रिय मेडलिस्ट कराते खेलाडी सीमा सुनुवार, तथा ८० वर्षको उमेरमा कक्षा १२ उत्तीर्ण गरी शिक्षा आर्जनको लागि उमेरले रोक्दैन भन्ने उदाहरण प्रस्तुत गर्ने रत्नकुमारी सुनुवारलाई विशेष सम्मान प्रदान गरिएको थियो ।
नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दालमान अक्षयकोषका अध्यक्ष नेपाली सेनाका सेवा निवृत्त ब्रिगेडियर जनरल राजेन्द्रप्रसाद सुनुवार (अप्रा) को अध्यक्षता रहेको थियो।
सो अवसरमा संस्थापक लेफ्टिनेन्ट मानबहादुर सुनुवार, सुनुवार सेवा समाज संघीय समितिका अध्यक्ष अमृतबहादुर सुनुवार, नेपाली सेनाका मेजर जनरल डा. आसमान तामाङ, नेपाल सरकारका उपसचिव तथा सुनुवार राष्ट्रसेवक समाजका अध्यक्ष अमरदिप सुनुवार, सरकारी सेवा कार्यरत विभिन्न तहका कर्मचारीहरु, सुनुवार सेवा समाज संघीय समितिका पूर्व अध्यक्षहरू, बर्तमान पदाधिकारी तथा काठमाडौ उपत्यकामा रहेका विभिन्न समितिका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, नेपाली सेनाका विशिष्ट व्यक्तित्वहरू, कला तथा साहित्य क्षेत्रका अग्रजहरू, तथा समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
सुनुवार जातिको परम्परागत बिधिबाट ढोल झ्याम्टा बजाई नासो (कुल पुरोहित) बाट कार्यक्रम सफलताको लागि पिदार गरि सुरु गरिएको पुरस्कार तथा सम्मान प्रदान कार्यक्रमले सुनुवार समुदायको भाषा, संस्कृति तथा प्रतिभा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने आयोजकहरूको विश्वास रहेको छ ।