रामेछापको उमाकुण्ड र गोकुलगंगा गाउँपालिकामा सुनुवार लिपिको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
सुनुवार (कोइँच) भाषाको संरक्षण तथा जगेर्नाको लागि सुनुवार सेवा समाजको स्थानीय गाउँपालिका समिति र संघीय समितिबाट संयुक्त रूपमा सो प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको थियो । उमाकुण्डमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा विभिन्न क्षेत्रका १ सय ४० जनाले सहभागिता जनाएका थिए ।
उमाकुण्डको बाम्ती र प्रति गरी दुई ठाउँमा कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ । प्रशिक्षण कार्यक्रममा सुनुवार समुदायका विभिन्न क्षेत्रमा कार्यरत जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, सामाजिक अगुवा लगायतको सहभागिता रहेको थियो । प्रशिक्षण दुई/दुई दिनको राखिएको थियो ।
यसै गरी गोकुलगंगा गाउँपालिकाको केन्द्र रस्नालुमा कार्यक्रमको आयोजना गरिएको थियो । गाउँपालिका अध्यक्ष काजीबहादुर खड्काले कोइँच लिपिबाट द, क लेखेर प्रशिक्षण कार्यक्रम उद्घाटन गरेका थिए । प्रशिक्षण कार्यक्रममा गाउँपालिकाको विभिन्न वडाहरूबाट ७५ जना भन्दा बढीको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले सुनुवार समुदायको बाहुल्यता रहेको गोकुलगंगा गाउँपालिकामा सुनुवार भाषालाई कामकाजी भाषा बनाउने र मातृभाषा शिक्षा लागु गराउने प्रतिबद्धता व्यक्त गर्नुभयाे। यसको लागि विज्ञहरूलाई सहयोग गर्न समेत उहाँले अनुरोध गर्नुभयाे ।
विभिन्न तीनवटा स्थानमा आयोजना गरिएको कार्यक्रममा सुनुवार सेवा समाज संघीय समितिका महासचिव उत्तम कुमार सुनुवारले प्रशिक्षण दिएका थिए भने सुनुवार सेवा समाज संघीय समितिको उपाध्यक्ष शिव सुनुवार सचिव रमेश कुमार सुनुवार सहकोषाध्यक्ष लुकमाया सुनुवार संघीय सदस्य सावित्री सुनुवार, सुनवार लिपिलाई युनिकोड बनाउन मुख्य भूमिका निर्वाह गर्नुहुने देवकुमार सुनुवार, त्यसैगरी सुनुवार सेवा समाज गोकुलगङ्गा गाउँपालिकाका र उमाकुण्ड गाउँपालिका पदाधिकारीहरूले सहजीकरणको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।