काठमाडौं। सुनुवार राष्ट्रसेवक समाजको दोस्रो साधारण सभा सम्पन्न भएको छ। सुनुवार समुदायबाट राष्ट्रसेवामा आवद्ध कर्मचारीहरूको साझा तथा प्रतिनिधिमुलक संस्थाले आफ्नो दोस्रो वार्षिक साधारण सभा शनिबार एक कार्यक्रमबीच सम्पन्न गरेको हो।

राजधानी स्थित सुनुवार सेवा समाजको सभाहलमा सम्पन्न साधारण सभामा आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापा मगरको प्रमुख अतिथ्यता रहेको थियो। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै आयोगका अध्यक्ष मगरले आदिवासी जनजातिहरूको प्रतिनिधित्व सार्वजनिक सेवामा सुनिश्चित गर्न आरक्षणको महत्वपूर्ण भुमिका रहेको औल्याउँदै आगामी दिनमा निजामती सेवा ऐन लगायत अन्य कानूनमा आरक्षणको प्रतिशत अझ बढाउनु पर्ने बताउनु भयो। आदिवासी जनजाति समुदायको हकहित संरक्षण गर्न आयोग सदैव तत्पर रहेको समेत बनाउनु भयो।

कार्यक्रममा संस्थाका अध्यक्ष अमरदीप सुनवारले संस्थाको वार्षिक प्रगति प्रतिवेदनसहित आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संस्थाले गत आर्थिक वर्षमा काठमाडौं उपत्यकामा बसोबास गरेका सुनुवार समुदायलाई लक्षित गरी बृहत् नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको र उक्त कार्यक्रमबाट करिब ३०० (तीन सय) लाभान्वित भएको बताउनु भयो । साथै, सुनुवार राष्ट्रसेवक दर्पण संस्थाको मुखपत्रको रुपमा प्रकाशन गरिएको र सुनुवार समुदायका सामाजिक संस्थाहरूबीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता प्रथम सुनुवार राष्ट्रसेवक कप २०८१ सम्पन्न गरेको बताउनु भयो। 

संस्थाको आगामी नीति तथा कार्यक्रम अन्तर्गत संस्थाको गतिविधिहरू सरोकारवालाई सम्प्रेषण गर्न संस्थाको वेवसाइट निर्माण गरी सञ्चालन गर्ने, संस्थाको मुखपत्र राष्ट्रसेवक दर्पण प्रकाशनलाई निरन्तरता दिने र सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता आगामी वर्ष पनि सञ्चालन गर्ने बताउनु भयो। 

साधारण सभाले सुनुवार राष्ट्रसेवक अक्षयकोष स्थापना गरी न्यूनतम १० लाख रकम बराबरको सुनुवार राष्ट्रसेवक अक्षयकोष स्थापना गर्ने योजना पारित गरेको छ। संस्थाले आगामी दिनमा उक्त कोषको रकमबाट आफ्ना रचनात्मक कार्यक्रमहरू अगाडी बढाउने र आगामी वर्ष उत्कृष्ट महिला र पुरुष १/१ राष्ट्रसेवकलाई पुरस्कृत गर्ने कार्यक्रम पारित गरेको अध्यक्ष सुनुवारले बताउनु भयो।

कार्यक्रममा सुनुवार समुदायका करिब डेढ दर्जन पूर्व राष्ट्रसेवक कर्मचारीहरूलाई सम्मान पत्र र दोसल्लासहित सम्मान गरिएको थियो। साथै संस्थालाई आर्थिक, भौतिक सहयोग गर्ने सहयोगी हरूलाई समेत सम्मान गरिएको थियो। साधारण सभामा संस्थाको गत आर्थिक वर्षको प्रगति विवरण, आर्थिक प्रतिवेदन र चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम सभामा छलफलमार्फत् सर्वसहमतिले पारित गर्दै सुनुवार सेवा समाज लगायत करिब एक दर्जन बढी संघ संस्थाहरू र प्रतिनिधिहरूको सहभागितामा साधारण सभा सम्पन्न भएको थियो।