काठमाडौं। ताप्लेजुङस्थित मुक्कुलुङको नामाकरण विवाद सम्बन्धमा किरात विद्यार्थी  समन्वय समितिले प्रेस विज्ञप्ति जारी गरेको छ। बुधबार चार किरात विद्यार्थीरूले संयुक्तरुपमा आदिवासी याक्थुङ लिम्बुहरुको मुन्धुममा वर्णित मुन्धुमी, आध्यात्मिक तथा सांस्कृतिक स्थल मुक्कुमलुङलाई पाथिभरा नामाकरण गरेकोप्रति आपत्ती जनाउँदै प्रेस विज्ञप्ति जारी गरेको हो।

प्रेस विज्ञप्ति जारी गर्दै किरात विद्यार्थी समन्वय मितिका संयोजक सागर सुनुवारले सरकारले नेपालका मौलिक पहिचानजन्य विषयवस्तुहरूमा निर्ममतापूर्वक निरन्तर प्रहार गर्दै  आईरहेको र त्यसकै सिलसिलामा मुक्कुमलुङको मौलिकतामाथि अतिक्रमण भएको  जनाएका छन् । सरकारले गरेको यस किसिमको प्रहारको विरुद्धमा हामी एक ठाउँमा उभिनु जरुरी भएको बताएका छन्। विज्ञप्ति जारी गर्दै संयोजक सुनुवार भन्छन् "किरात जातिको ऐतिहासिक, सांस्कृतिक, धार्मिक एवम् आध्यात्मिक स्थल मुक्कुमलुङमा सरोकारवाला पक्षको बिनाअनुमति, बिनाजानकारी व्यापारिक संस्थालाई नाफा प्रयोजनका लागि संरचना निर्माण गर्न दिने सरकारको निर्णयले सरोकारवालाको हकलाई प्रत्यक्ष रूपमा हनन् गरेको छ । सरकारको उक्त निर्णय गलत छ । यसलाई सच्याइनुपर्छ।"

त्यस्तै, किरात विधार्थी समन्वय समितिका सचिव तथा किरात राई विधार्थी संघका केन्द्रीय अध्यक्ष रामचन्द्र राईले सांस्कृतिक, धार्मिक तथा आध्यत्मिक दमन बन्द गर्न राज्यको गम्भिर ध्यानकर्षण गराउँदै यस्ता खाले हर्कत कदापी स्वीकार नगर्ने बताए। राज्यले यस्तो हर्कत कायमै राखे ससक्त प्रतिरोध गर्ने र जस्तो सुकै मूल्य चुकाउन किरात समुदाय तयार रहेको समेत बताएका छन्।

मुक्कुलुमा बचाउ आन्दोलनमा ऐक्यवद्धता जनाउँदै समन्वय समितिले सरकारले चालेको गतिविधि तुरुन्त रोक्न र आन्दोलनरत पक्षको मागलाई सम्बोधन  गर्न आग्रह गरेका छन् । त्यस्तै यही बैशाख ११ गते पाथिभारा दर्शन केबलकार प्रा.लि.द्वारा प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत केबलकार शिलान्यास गराउने समाचारले किरात विद्यार्थी समन्वय समितिको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ। 

विज्ञप्तिमार्फत सरकारले आफूहरुको माग सम्बोधन नगरे संस्कार–संस्कृतिको रक्षार्थ किरातीहरू जस्तोसुकै परिस्थितिको सामना गर्दै कठोरभन्दा कठोर संघर्षमा उत्रने चेतावनी दिएका छन्।

किरातहरूको ऐतिहासिक थलो मुक्कुमलुङलाई राज्यले पाथीभरा नामांकन गरी प्रचार गर्न खोजिएकोविरुद्ध तथा मुक्कुमलुङलाई बचाउने र स्थापित गर्ने उद्देश्यले भोलि बैशाख ९ गते काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन हुने भएको छ। मुक्कुमलुङ अतिक्रमणविरुद्ध लिम्बु लगायत आदिवासी समुदायद्वारा प्रदर्शन हुँदै आएको छ। मुक्कुमलुङ आदिवासी लिम्बु समुदायको सांस्कृतिक स्थल हो ।

प्रेस विज्ञप्तिको पूर्ण पाठ:

प्रदेश नं. १, ताप्लेजुङ जिल्लामा अवस्थित आदिवासी किरात समुदायको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा अध्यात्मिक आस्थाको केन्द्र मुक्कुमलुङलाई अतिक्रमण गरी पाथिभारा बनाइएकोमा मौलिक नाम र सांस्कृतिक विरासतलाई पुनःजस्ताको तस्तै स्थापित गरिनु पर्ने माग राखी मुक्कुमलुङ सयुक्त संघर्ष समिती आन्दोलनरत रहेको कुरा यहाँहरू सबैमा सर्वविदितै छ । 

यसै बीच पाथिभरा दर्शन केवलकार प्रा.ली.द्वारा आगामी २०७८ वैसाख ११ गते प्रधानमन्त्री केपि शर्मा ओलीमार्फत केवलकार शिलान्यास गराउन गइरहेको भन्ने विभिन्न सञ्चार माध्यमद्वारा जानकारी हुन आएपछि त्यसको विरुद्ध आन्दोलनरत आदिवासी किरात समुदायको जायज मागलाई वेवास्ता गर्दै राज्य गैर जिम्मेवार तवरबाट प्रस्तुत भइरहेकोमा किरात विधार्थी समन्व्य समितिको गम्भीर ध्यानाकर्षण भएको छ । 

किरात समुदायको ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा आध्यात्मिक स्थल मुक्कुमलुङलाई अतिक्रमण गरी त्यसको महत्व र गरिमालाई नष्ट पार्ने नियतले चालिएको उक्त कदमप्रति घोर आपत्ति जनाउँदै संयुक्त मुक्कुमलुङ संघर्ष समितिद्वारा घोषीत मुक्कुमलुङ बचाउ आन्दोलनमा किरात विधार्थी समन्व्य समितिको ऐक्यबद्धता रहेको जानकारी गराउन चाहन्छौँ ।
साथै, मुक्कुमलुङ संयुक्त संघर्ष समितिले उठाउँदै आएको जायज मागलाई यथाशीघ्र सम्बोधन गर्न, गराउनका लागि नेपाल सरकार तथा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहान्छौँ। अन्यथा हाम्रो संस्कार–संस्कृतिको रक्षार्थ जस्तोसुकै परिस्थितिको सामना गर्दै कठोरभन्दा कठोर संघर्षमा उत्रने सम्बन्धित सबैमा जानकारी गराउन चाहन्छौँ । 

अन्त्यमा, सबै सचेत तथा न्यायप्रेमी जनसमुदायहरुलाई यो न्यायिक लडाइँमा एकजुट हुन र आन्दोलनप्रति ऐक्यबद्धत्ता जनाउँदै संघर्षमा उत्रनका लागि हार्दिक अपिल गर्दछौँ । जय किरात!