दसैंको अवसरमा सप्तरीको छिन्नमस्तामा जारी तेस्रो राष्ट्रिय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि त्रियुगा नगरपालिका टिमले हात पारेको छ । फाइनल खेलमा उसले खड्क नगरपालिकालाई ३–० सेटले पराजित गर्दै उपाधि जितेको हो ।

खेल जितेसँगै त्रियुगा नगरपालिकाले नगद रु १ लाख नगदसहित ट्रफी हात पारेको छ । दोस्रो भएको खड्क नगरपालिकाले नगद रु ५१ हजार र ट्रफी हात पारे । छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सप्तरीका अध्यक्ष शिव नारायण सिंहले विजेता तथा उप विजेता टोलीलाई नगद पुरस्कार,कप तथा प्रमाणपत्र प्रदान गरे ।

छिन्नमस्ता गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा स्थानीय छिन्नमस्ता ’ए’, छिन्नमस्ता ’बी’, नेपाल प्रहरी, नेपाल आर्मी, पाथीभरा टाईगर, खड्क नगरपालिका, त्रियुगा नगरपालिका र धनुषा भलिबल टिम गरी कुल आठ वटा टिमको सहभागिता रहेको थियो।