काठमाडौं। फोर्ब्स पत्रिकाले सार्वजनिक गरेको एसियाका प्रभावशाली यूवाहरूको सूचीमा नेपालका दुई युवाहरू परेका छन्। पत्रिकाले मंगलबार सार्वजनिक गरेको एसिका ३० प्रभावशाली युवाहरूको सूचीमा नेपालका दुई युवा परेका हुन्।

पत्रिकाले विभिन्न १० विधामा प्रभावशाली युवाहरू समावेश गरेको छ। सोही अन्तर्गत ‘इन्टरटेन्मेन्ट एण्ड स्पोर्टस्’ विधाबाट गौरिका सिंह र ‘फाइनान्स एण्ड भेन्चर क्यापिटल’ विधामा प्रकाश कोइराला यो सूचीमा परेका हुन्।

फोर्ब्सले मंगलबार प्रकाशित गरेको सूचीमा ३० वर्षमुनिका  युवाहरू रहेका छन्। प्रभावशाली युवाको सूचीमा परेकी गौरिका सिंह पौडीका खेलाडी हुन्। उनले सन् २०१९ को दक्षिण एसियाली खेलकूदमा चार स्वर्ण, दुई रजत र तीन कास्य पदक जितेकी थिइन्। उनी माइती नेपाल र शान्ति एजुकेसन इनिसिएटिभ्सकी सद्भावना दूत पनि हुन्।

त्यस्तै, प्रभावशाली सूचीमा परेका प्रकाश कोइराला फिनलिट नेपालका संस्थापक हुन्। यस संस्थाले निम्न आय भएका मानिसहरूलाई आधारभुत वित्तीय शिक्षा दिने गर्दछ। उनले सन् २००९ देखि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएका छन्।