म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा रहेको ताकमकोत म्याग्दीको ऐतिहाँसिक, धार्मिक र पर्यटकीय स्थल हो । विस १२४६ देखि १५४५ सम्म बगाले थापाको र १५४६ देखि १८८२ सम्म मल्ल राजाले ताकमकोतबाट राज्य सञ्चालन गरेको इतिहास छ । 

समुन्द्री सतहदेखि दुई हजार पाँच सय मिटर उचाईमा अवस्थित ताकमकोट वाइसे चौविसे राज्यका पालमा हालको धवलागिरी र मालिका गाउँपालिकाको केही वडाको राजधानी थियो । बाइसे चौबिसे राजाले हरेक वर्षको वडादसैँको महानवमी पर्वको अवसरमा आठ सय वर्ष अघि ठेला (छेलो) फालेर पहलमान पहिचान गर्न बसाएको चलनलाई अहिलेम्म पनि निरन्तरता दिइएको छ । 

ताकमकोतमा आयोजना हुुने ठेलो फाल्ने प्रतियोगिता जितेर माल (पहलमान)को सम्मान पाउने यस क्षेत्रका हस्टपुुष्ट र अग्लो शरीर भएका बलिया बाङ्गा युवाहरुको पुर्खौैअघिदेखिको शोख भएको ताकमकोत संरक्षण व्यवस्थापन समितिका सदस्य रिमप्रकाश थापाले बताउनुभयो । 

“ठेलो फाल्ने यस क्षेत्रका युवाहरुमाझ लोकप्रिय खेल भएपनि ताकमकोतको ठेलोमा जित्नेको छुट्टै महत्व र पहिचान हुने भएकाले यसलाई युवाहरुले प्रतिष्ठाको विषय बनाउने गरेका छन्”, उहाँले भन्नुभयो “तत्कालीन थापा राजाका पालामा सुरु भएको माल पहिचान गर्न ठेलो फाल्ने प्रतियोगिता आयोजना गर्ने चलनलाई अहिले पनि निरन्तरता दिएका छौँ ।” 

माललाई फेता गुुटाएर काँधमा बोकेर गाउँ परिक्रमा गराएर सम्मानका साथै नगद उपहार दिने चलन छ । मेला महोत्सव र सभासमारोहमा मालको उपमा दिएर सम्बोधन गर्ने गरिन्छ । पहिले ताकमकोतको ठेलोमा प्रतिस्पर्धा जनाउनेहरु बर्खामा लेकको बुकीका गोठमा गएर दूध, दही, घ्यू खाने चलन रहेको बुढापाका बताउँछन् ।