भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दसैँ अघि नै निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने प्रतिबद्धता जनाउनुभएको भएपनि व्यवसायीले भुक्तानी रकम पाउन सकेनन् । मन्त्री दाहालले कात्तिकसम्म निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्नेे तयारी भइरहेको जानकारी दिनुभयो । 

“मैले दसैँ अगाडि भुक्तानी दिनुपर्छ भनेको थिएँ”, उहाँले भन्नुभयो, “हाम्रो मन्त्रालयले रु आठ अर्ब ६६ करोड भुक्तानी दिन बाँकी छ । हामीले रु पाँच अर्ब ५० करोड भुक्तानी दिइसकेका छौँ । रु तीन अर्ब ५० करोड जति भुक्तानी दिन बाँकी छ । भुक्तानीका लागि अर्थ मन्त्रालयसँग कुरा गरेका छौँ ।” 

मन्त्री दाहालले बक्यौता भुक्तानी सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्दा तीन महिना अगाडि रकमान्तर गर्न नपाइने भएकाले कात्तिक लाग्नैपर्ने हुँदा ढिलाइ भएको बताउनुभयो । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारबाट अझै रु ४५ अर्ब भुक्तानी हुन बाँकी रहेकाले समयमा भुक्तानी हुन नसक्दा निर्माण उद्योग समस्यामा परेको बताउनुभयो ।