डडेल्धुराको भित्री मधेसबाट खसीबोका बिक्रीका लागि महेन्द्रनगर पुगेका डडेल्धुराका किसानले खसीबोका बिक्री नभएको गुनासो गरेका छन् । 

डडेल्धुराको परशुराम नगरपालिका–८ जोगबुढाबाट पैदलै महेन्द्रनगर पुगेका देव धामीले चाडपर्वको बेलासमेत खसीबोका बिक्री नभएपछि आफूहरू निराश भएको बताउनुभयो । “खसीबोका बिक्रीबाट आएको आम्दानीले चाडपर्व मान्ने र यसैबाट वर्षभरि जीविकोपार्जन हुने गरेको थियो”, उहाँले भन्नुभयो,“महेन्द्रनगर पुगेको दुइदिन भयो यसपटक बिक्री भएको छैन ।”

दसैँको बेला हरेक वर्ष खसीबोका बिक्रीका लागि महेन्द्रनगर पुग्ने गरे पनि विगतको तुलनामा यस वर्ष अवस्था उत्साहजनक नरहेको धामीको भनाइ छ । “हामी सात÷आठ जनाको समूह बनाएर हरेक वर्ष दसैँका बेला खसीबोका लिएर यहाँ आउने गरेका छौँ, हालसम्म राम्रो संकेत छैन । हेरौँ बाँकी दिन केही हुन्छ कि !”, उहाँले अगाडि भन्नुभयो ।  

जोगबुढाकै गोरे धामीले  बाख्रापालन गरेर जीविकोर्पाजन गर्दै आएकामा यसपटक सोचेअनुसार व्यापार नहुँदा निराश बनाएको बताउनुभयो । “आम्दानीको स्रोत भनेकै यहीँ बाख्रापालन हो । चाडपर्वमा पनि बिक्री भएन भने घरखर्च चलाउनै मुस्किल पर्छ”, उहाँले भन्नुभयो, “घरबाट यहाँ पुग्दासम्म खसिबोकाको तौलसमेत घट्छ बिक्री नहुँदा झनै घाटा हुने भो ।” उहाँले दुई दिन हिँडेर ५० वटा खसीबोका महेन्द्रनगर पु¥याउनुभएको थियो । 

जोगबुढाकै दिलिम राम लोहारको समस्या पनि यस्तै छ । महेन्द्रनगर आएको तीन दिनसम्म पनि विगतका जस्तो व्यापार नभएको उहाँले दुःखेसो पोख्नुभयो ।   “जोगबुढाबाट समूह बनाएर खसिबोका बिक्रीका लागि महेन्द्रनगर आएका हौँ । यहाँ आएको तीन दिन भइसक्यो दुईवटा मात्रै खसी बिक्री भएका छन् । खै ! बाँकी दिनमा पनि के पो हुने हो !” उहाँले संशय व्यक्त गर्नुभयो ।