काठमाडौं। नेपाल सरकारले कोरोना सङ्क्रमण दर उच्च भएसँगै सहरी क्षेत्रका विद्यालयहरू बन्द गर्ने भएको छ। सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले बैशाख मसान्तसम्मका लागि विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो।

सरकारले भौतिक उस्थितिमा हुने विद्यालयका कक्षाहरू बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने दिने निर्णय गरेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिन अघि देखि नै शहरी क्षेत्रका विद्यालय बन्द गर्न सरकार तथा उच्चस्तरिय समन्वय समिति समक्ष प्रस्ताव गरेको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सङ्क्रमणको जोखिममा रहेको काठमाडौं उपत्यकासहित १४ जिल्लालाई अति प्रभावित क्षेत्रमा राख्दै बालबालिकालाई विद्यालय नपठाउन अपील गरिरहेको छ। त्यस्तै, मन्त्रिपरिषद् बैठकले सिनेमा हल, पार्टी प्यालेस, रंगशाला लगायतका भीडभाड हुने क्षेत्र पनि बन्द गर्ने निर्णय गरेको छ।