रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा शनिबारदेखि अवरुद्ध रहेको विद्युत् सेवा सञ्चालन भएको भएको छ ।
शनिबार आएको बाढी, पहिरोले ढल्केवर र लामोसाँघुबाट ल्याएको विद्युतको दुवैतिरको खम्बा ठाउँठाउँमा बगाएको, तार चुँडिएकाले शनिबारदेखि सदरमुकाम मन्थली र मन्थली सवस्टेशनबाट वितरण गरिएको जिल्लाका विभिन्न क्षेत्रको विद्युत् सेवा अवरुद्ध भएको थियो ।
न्यू खिम्ती सवस्टेशनबाट मन्थली सवस्टेशनसम्म ३३ केभी प्रसारण लाइनको विद्युत् खम्बा करिब ५२ घण्टाको मर्मतपश्चात् सोमबार साँझदेखि सेवा सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरण मन्थली शाखाका प्रमुख दीपेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।
उहाँका अनुसार वैकल्पिक रुपमा जनकपुर ढल्केवर मन्थली जोडिएको लाइनको पनि मर्मत जारी रहेको छभने मन्थली सवस्टेशनबाट जिल्लाका विभिन्न भागमा वितरण गरिएको ११ केभीको वितरण लाइन पनि सञ्चालनको प्रयास भइरहेको छ ।
विद्युत् सेवा अवरुद्ध भएपछि जिल्लामा टेलिफोन, इन्टरनेट र खानेपानी सेवासमेत अवरुद्ध भएको थियो । विद्युत् सेवा सञ्चालन गर्न प्राधिकरणका कर्मचारी, नेपाली सेना, प्रहरी, स्थानीय निकायका साथै रामेछापका ‘सहयोगी मन’का सदस्यहरुले सहयोग गर्नुभएको स्थानीय समाजसेवी विपीन भट्टराईले जानकारी दिनुभयो ।