भुजी लिग फुटबल प्रतियोगिता २०८१ आगामी कार्तिक २ गते देखि संचालन हुने भएको छ । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नम्बर ७ भुजी स्थित अमृत घामछाँया खेलकुद मैदानमा उत्त प्रतियोगिता संचालन गर्न लागिएको आयोजक संस्था फुटबल क्लब भुजीका अध्यक्ष शुभराज सुनुवारले बताए ।
२०५५ साल देखि निरन्तर संचालन हुँदै आएको भुजी लिग रामेछाप जिल्लामै स्थापित एक फुटबल प्रतियोगिता भएको स्थानिय समाजसेवी तोरण सुनुवारले बताए । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु. १ लाख २६ हजार २६ रुपैयाँ सहित मेडल, ट्रफी त्यसैगरि द्वितीय हुने टिमलाई नगद रु. ६३ हजार २६ रुपैयाँ सहित मेडल, तृतीय हुने टिमलाई ३० छब्बीस हजार २६ रुपैयाँ सहित मेडल र सान्त्वना पुरुस्कार नगद रु. १० हजार २६ रुपैयाँ प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।
प्रतियोगिताको लागि २०८१ साल असोज ३ गते देखि २९ गते सम्म टिम दर्ता खुला गरिएको क्लबका अध्यक्ष सुनुवारले बाताएका छन । प्रतियोगितामा रामेछाप, ओखलढुंगा, दोलाखा, सिन्धुली, काठमाडौं, ललितपुर लगायत विभिन्न जिल्लाबाट सहभागी हुने गरेका छन । खेल ब्यबस्थित बनाउन यस पटक १६ वटा टिमहरुको बिचमा मात्र प्रतिस्पर्धा गराउने क्लबका अध्यक्ष सुनुवारले जानकारी गराएका छन ।
बिगतमा लिखु भुजी रामेछाप युवा क्लब, हुपिनचुली युवा क्लब, बुम्देल सामुदायिक संस्थाहरुले पालैपालो संचालन गराउदै आएको यस प्रतियोगिता २०७८ साल देखि निरन्तर रुपमा फुटबल क्लब भुजीले आयोजना गर्दै आएको छ । खेललाई अझ आकर्षक बनाउन महिला खेलाडीहरुको बिचमा फुटबल प्रतियोगिता, भेट्रानहरु बिचमा पनि छुट्टै प्रतिस्पर्धा गराउने तयारी रहेको आयोजक संस्थाले ले जनाएको छ।
भुजी लिगको ट्रफीमा १ केजि चाँदी र एक तोला सुन जडित रहेको छ । ट्रफीको प्राप्तिको लागि निरन्तर तीन बर्ष सम्म एउटै टिम बिजेता बन्नु पर्ने छ । लिगको उद्गघाटन समारोहमा बृहत साँस्कृतिक कार्यक्रम पनि राखिएको छ ।