पेडारी खोलाको पुलले दुर्गम गाउँ र सहरलाई जोड्ने भएको छ । कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकालाई जोड्ने कोहलपुर नगरपालिका वडा नं १५ मा निर्माण हुन लागेकोे पुलले स्थानीयलाई आवतजावत गर्न सहज हुने कोहलपुर–१५ का वडाध्यक्ष दीपेन्द्रकुमार चौधरीले जानकारी दिनुभयो ।

उहाँले बैजनाथका मर्चरा, गुरुवागाउँ र पेडारी गाउँलाई कोहलपुर बजारसँग जोड्ने उल्लेख गर्दै २०६३ सालदेखि पुल बनाउने सपना बल्ल साकार हुन लागेको बताउनुभयो । निर्माणाधीन पुलले स्थानीयका अन्नपात बेचबिखन गर्न सहज हुने बताउँदै वडाध्यक्ष चौधरीले लामो समय लगाएर घुमेर कोहलपुर बजार जानुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो । कोहलपुर र बैजनाथका जनप्रतिनिधिको निरन्तर प्रयासका कारण सङ्घीय सरकारको बजेटबाट सो पुलको निर्माण सुरु गरिएको कोहलपुर–१५ का वडाध्यक्ष चौधरीले बताउनुभयो ।

कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाको संयुक्त प्रयासमा रु सात करोड लागतमा पक्की पुल निर्माणको पहल भएको हो । कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुर बजारलाई जोड्ने पक्की पुल नहुँदा कोहलपुर–१५ र बैजनाथ–५ र ७ का स्थानीयले सास्ती झेल्नुपरेको उल्लेख गर्दै पुल निर्माण भएपछि स्थानीयले झेल्नुपरेको सास्तीको अन्त्य हुने बताउनुभयो । उहाँले पुल नहुँदा वर्षाको समयमा बालबालिका पढ्न नपाउने, खेती गरेका किसानले आफूले लगाएको बालीसमेत लिन नपाउनेलगायत विभिन्न सास्ती भोग्नुपरेको उल्लेख गर्नुभयो ।

प्रमुख आचार्यले आफूले निर्वाचनको बेला जनतासँग गरेको प्रतिबद्धता पूरा गरेकामा खुसी व्यक्त गर्दै पुल निर्माणपश्चात कोहलपुर र बैजनाथका ग्रामीण भेगका स्थानीय प्रत्यक्ष लाभान्वित हुने बताउनुभयो । बैजनाथ गाउँपालिका–७ का वडाध्यक्ष दिनेश थारूले लामो समयदेखि स्थानीय जनताको मागअनुसार पुलको निर्माण सुरु हुनु यस क्षेत्रको विकासका लागि गौरवको विषय भएको बताउनुभयो ।