वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद कल्याणी रिमाल नाट्य सङ्गीत प्रतिष्ठानद्वारा जमलस्थित राष्ट्रिय नाचघरमा आइतबारदेखि आयोजित महोत्सवमा सहभागी हुन देशभरबाट ३२ नाटकले प्रतिस्पर्धा गरेकामा ‘सती कलसा’, ‘घरजम’, ‘निब’, ‘नाच नौवरङ्गी नाच’, ‘लासको खेती’ र ‘सिल्भिया’ मञ्चनका लागि छनोटमा परेका थिए ।

मञ्चन भोलीसम्म जारी रहने छ । वरिष्ठ साहित्यकार एवं चलचित्र निर्देशक यादव खरेलले वरिष्ठ नाट्यकर्मी रिमालले मौलिक नाटकको विकासमा महत्त्वपूर्ण योगदान गर्नुभएको स्मरण गर्नुभयो । उहाँले सञ्चारमाध्यम धेरै नभएको समयमा रिमालद्वारा स्वरवद्ध गीत नेपाली प्रसारणको इतिहाससँग जोडिने बताउनुभयो । उहाँले रिमालको सिर्जना अर्काइभमा सङ्ग्रह गर्नुपर्छ भन्नुभयो । प्रतिष्ठानका सदस्यसचिव सम्राट सापकोटाले नेपाली रङ्गमञ्च विभिन्न कारणले शिथिल हुँदै गएको अहिलेको अवस्थामा महोत्सवले नाट्यकर्मीलाई केही ऊर्जा दिने विश्वास व्यक्त गर्नुभयो ।

आगामी दिनमा प्रदेशस्तरीय महोत्सव पनि गरिने जानकारी दिँदै उहाँले मञ्चलाई सुहाउँदो नाटकमा अभिनय मौलिक, स्वाभाविक र जीवन्त हुनुपर्ने बताउनुभयो । महोत्सवमा पहिलो, दोस्रो र तेस्रो हुने समूहलाई क्रमशः रु एक लाख, रु ५० हजार र रु २५ हजार पुरस्कार प्रदान गरिनेछ । विसं २०६५ मा स्थापना गरिएको प्रतिष्ठानले कला साहित्य, सञ्चार र नाटकका क्षेत्रमा योगदान गर्ने स्रष्टालाई हरेक वर्ष सम्मान गर्दै आएको छ ।