काठमाडौं। कवि तथा गीतकार अमरदीप सुनुवारको कविता संग्रह ‘पृथ्वीको श्वेतपत्र’ लोकार्पण भएको छ। शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा कुलपति भूपाल राई र लेखक सुनुवारलगायतले संयुक्त रूपमा ‘पृथ्वीको श्वेतपत्र’ कविता सङ्ग्रह लोकार्पण गर्नु भएको हो।

लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कुलपति भूपाल राईले कविता भनेको सुसंस्कृत गराउने सिर्जना भएको बताउनु भयो। उहाँले ‘कर्मचारी र कवि’,‘कर्मचारी र कविता’ भन्ने बित्तिकै आफूलाई सुखानुभूति हुने बताउँदै राईले सबै निजामती कर्मचारीले कविता लेख्ने हो भने काममा समेत थप सिर्जनशिलता आउने धारणा राख्नु भयो। ‘प्रत्येक कर्मचारीले कविता लेख्नुपर्छ, नलेखेपनि पढ्नुपर्छ।’ ‘जसरी शरीरको मयल साबुनले सफा गर्छ, त्यसैगरी साहित्यले मानिसको दिमाग सफा गर्छ। मानिसको दिमाग सफा गर्ने कविताले हो, त्यसैले कविता लेख्नुपर्छ,पढ्नुपर्छ।’

कवि तथा गितकार सुनुवारले आफ्नो कवितामा राष्ट्रप्रेम,राष्ट्रभक्ति, सुष्टि रचना, सुष्टिको सौन्दर्यता,मानवता, प्रकृतिवाद, समयका सुस्केरा, मानवीय संवेदना तथा स्वतन्त्रता जस्ता विषयलाई कविताको विषयवस्तु बनाएको उल्लेख गरे। उनले पृथ्वी भएर नै हामी अस्तित्वमा रहेको उल्लेख गरे। उनले कवितामार्फत भनेका छन्,

म नीलो ग्रह पृथ्वी हुँ
जन्मजन्मान्तर पृथ्वी नै हुन चाहन्छु
ब्रह्माण्डभरि शीतलता छर्न चाहन्छु
गोलार्धभरि जीवनका लाँलीगुराँस फुलाउन चाहन्छु
भूमध्यरेखामा जीवनको रेल गुडाउन चाहन्छु
कसैले मेरो आकार र आयु नाप्न सकौँला
तर करूणा र प्रेम नाप्न सक्दैनौं
कसैले मेरो व्यास र तौल नाप्न सकौला
तर मैले आजीवन बोकेको
जीवन र जगत्‌को मूल्य मापन गर्न सक्दैनौ
मलाई पृथ्वी भएकोमा कुनै खेद छैन
मलाई नाङ्गिएर बाँच्नुमा कुनै ग्लानि छैन
म जसले जे गरे पनि पृथ्वी नै भइरहन सकूँ
म जसले जे भने पनि पृथ्वीमा जीवन उमारिरहन सकूँ ।

सुनुवारको कवितामाथि साहित्यकार मोमिला जोशी,राजकुमार बानियाँ,सुशान्त गुरुङ,विमला तुम्खेवालगायतले समीक्षा एवम् टिप्पणी गरेका थिए। सुनुवारको पहिलो काव्यकृति उत्कृष्ठ बनेर आएको बताउँदै उनीहरुले सरल भाषामा गहन अभिव्यक्ति व्यक्त गर्न पुस्तक सक्षम भएको बताए। सुनुवारले ४७ वटा कवितालाई १३१ पृष्ठमा समावेश गरेका छन्।

सोही लोकार्पण कार्यक्रमकै सिलशिलामा कवि तथा गीतकार सुनुवारले आफ्नो रचनामा रहेको नयाँ बाल गीत ‘आँगनीमा नाच चरी’ गीतसमेत सार्वजनिक गर्नु भएको छ। यस अगाडि उनले ‘दिनरात सधैँ सधैँ’ र ‘लिखु खोलाको तिरैतिर’ बोलको गीत ल्याई सक्नु भएको छ।