सिन्धुली। नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीले सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवस २०८१ को अवसरमा कारागारमा रहेका आश्रित बालबालिकाहरूलाई शैक्षिक सामाग्री वितरण गरेको छ। मंगलबार बिहान कारागार कार्यालय सिन्धुलीको प्राङ्गणमा एक समारोह आयोजना गरी सहिदहरुको स्मृतिमा शैक्षिक सामग्री वितरण गरिएको हो।
कारागार कार्यालय सिन्धुलीमा कैदी जीवन बिताइरहेका कैदी बन्दीहरूका आश्रित बालबालिकाहरूको शैक्षिक सहजताका लागि संगठनले भित्ते अध्ययन सामग्री, कपि, पेन्सिल र खेलकुद सामग्री वितरण गरिएको निजामती कर्मचारी संगठन सिन्धुलीका सचिव डिल्ली सौगात घिमिरेले बताउनु भयो ।
संगठनका जिल्ला अध्यक्ष पदम मगरको अध्यक्षता,नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय निर्वाचन आयोग सदस्य फडिन्द्र ढुङ्गेलको प्रमुख आतिथ्यता, पेसागत महासङ्घ नेपाल केन्द्रीय सदस्य भरत श्रेष्ठ, नेकपा एमाले जिल्ला कमिटी, सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठ लगायतको आतिथ्यता र करिब ६० जना सहभागीबीच कार्यक्रम सम्पन्न भएको थियो ।
कर्मचारीहरूको हक हित र राष्ट्रिय हितको आन्दोलन गर्ने क्रममा राज्य पक्षबाट नै सहादत प्राप्त गरेका झपेन्द्र कार्की, मनोज जोशी र सुरेन्द्र वि.क.को सम्झनामा शैक्षिक सामग्री वितरण कार्यक्रमको आयोजना गरिएको कर्मचारी संगठनले जनाएको छ।