काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार वितरण गरेको पदकमा नयाँ नक्शा नराखेको विषयमा नेकपा एमालेको माधव नेपाल समूहका विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियूले राजधानीको माइतीघरमा लिपुलेक र लिम्पियाधुरासहितको नक्शासहित प्रदर्शन गरेका हुन्।

राष्ट्रपतिले २०७६ सालमा घोषणा गरिएका विभिन्न विभूषण तथा पदक शुक्रबार प्रदान गरेकी थिइन्। उक्त विभूषण तथा पदकमा नेपालको नयाँ नक्सा उल्लेख भएको थिएन।

माइतिघरमा विद्यार्थीहरूले विरोध प्रदर्शनसहित झूटो नक्शा चाहिन्न, चुच्चे नक्शा फेर्न पाइन्न, चुच्चे नक्शा खै जस्ता नारा लगाएका छन्।

त्यस्तै, पदक वितरणमा पुरानो नक्शाको विषयमा चौतर्फि बिरोध भएपछि गृह मन्त्रालयले भने सूचना जारी गर्दै २०७६ सालमै घोषणा गरिएका विभूषण भएको र वितरण २०७७ बैशाख १ गते हुनुपर्नेमा कोभिड -१९ का कारण वितरण हुन नसकेकाले पहिले नै तयार गरिएका पदहरूमा उल्लेखित नक्शा पुरानै रहेको जनाएको छ।