१ भदौ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यसपालिको एसईईको नतिजा सार्वजनिक गरेको छ । कोरोना सङ्क्रमण जोखिमले स्थगित भएको परीक्षा विद्यालयले  आन्तरिक मुल्याङ्कन गरी पठाएको आधारमा बोर्डले नतिजा सार्वजनिक गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकले एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । यसपाली ४ लाख ७२ हजार ७८ विद्यार्थीको परीक्षाफल प्रकाशित भएको छ । एसईईको नतिजा टेलिफोन, एसएमएस र बेभसाइटमा हेर्न सकिने परीक्षा बोर्डले जनाएको छ ।

कोभिड -१९ रोगको सङ्क्रमणका कारण परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरेको हो ।

विद्यार्थीहरूको मूल्याङ्कन प्रधानाध्यापक अध्यक्ष र सम्बन्धित कक्षाका शिक्षक तथा सम्बन्धित माध्यमिक तहका शिक्षकहरू मध्ये नियुक्तिका आधारमा सबैभन्दा जेष्ठ शिक्षक प्रतिनिधि सदस्य रहेको मूल्यांकन समितिले गरेको थियो । त्यसरी मूल्याङ्कन गरिएको विवरण विद्यालयहरूले जिल्ला समन्वय ईकाई मार्फत बोर्डमा पठाएका थिए ।

एसईईको नतिजा हेर्न नेपाल टेलिकमको एसएमएस र आईभिआर सेवाको १६००, एनसेल प्रा.लि.को एसएमएस सेवा १६०० तथा वेवसाइटहरु www.see.gov.np, www.neb.gov.np, www.see.ntc.net.np र www.see.edusanjal.com मा गएर हेर्न सकिने छ ।