दैलेखदेखि आएका राउटे समुदायका अगुवाले आइतबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेका छन् । मुख्यमन्त्रीलाई भेट्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेका उनीहरुले मुख्यमन्त्री पाण्डेसमक्ष राउटे समुदायले भोग्दै आएका समस्याबारे जानकारी गराएका थिए ।
राउटे समुदायको गासवासको जोहाका लागि आर्थिक सहायता मागेपछि मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारका तर्फबाट रु ५० हजार सहयोग प्रदान गर्नुभएको थियो । सो अवसरमा उहाँले राउटे समुदायको वर्तमान अवस्थाका बारेमा जानकारी लिनुभएको थियो । राउटे समुदायका अगुवा लालबहादुर शाहीले सहयोग रकम राउटे जातिको खाना र आवासमा खर्च गरिने बताउनुभयो ।
उहाँले सातवटै प्रदेश सरकारबाट आर्थिक सङ्कलन गरिने जानकारी दिनुभयो । शाहीले लोपोन्मुख राउटे जातिको गासवाससहित जीवकोपार्जनमा नेपाल सरकारले विशेष सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।