दानियल सुनुवार, रामेछाप। गोकुलगंगा गाउँपालिकाको खिम्ति-बेताली-धारापानी सडक खण्ड कालोपत्रे हुने भएकोछ। यो सँगै गोकुलगंगा बासीले धुले सडकबाट उन्मुक्ति पाउने भएका छन्।

हालसम्म कालोपत्रै बाटो नहुँदा धुलाम्य सडकका कारण खेप्नु परेको सास्ती अब अन्त्य हुने भएको छ। यसै वर्षा गाउँपालिकाको सडक खण्डमा कालोपत्रे हुने भएपछि गोकुलगंगा बासीमा खुसियाली छाएको छ।

कालो पत्रेका लागि सडकलाई विभिन्न खण्डमा विभाजन गरी डिपिआर, नाली कल्भट निर्माण कार्य हुँदैछ। विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-१९ ले गर्दा कालोपत्रेको काममा केही ढीलासुस्ति भएपनि हाल कामले तिब्रता लिएको छ।

गाउँपालिकाको वडा नं. ६ फर्पुमा सडक कोलोपत्रेको काम ५० प्रतिशत सम्पन्न भएको छ भने वडा नं. ५ मा नाली तथा कल्भर्ट निर्माणको काम धमाधम भईरहेको छ। त्यस्तै गाउँपालिकाको वडा न ३ र ४ मा सडक स्तरोन्नतीको लागि प्रारम्भिक वातावरणीय परीक्षण भइरहेको छ।

सिइआरसी कन्सल्टेन्सीले कालोपत्रेको जिम्मा पाएको प्रारम्भिक वातावरण परीक्षणको लागि वडा न. ३ मा आज एक अन्तर्क्रिया कार्यक्रम वडाध्यक्ष तथा स्थानीयबासी र प्रभावित व्यक्तिहरूसँग गरेको हो। अन्तर्क्रिया कार्यक्रममा सिइआरसी सन्सल्टेन्सीका प्रतिनिधि प्रितम महर्जनले सामुदायिक वन सडक आसपासका प्रभावित वर्ग र वडा नं. ३ का वडा अध्यक्षसँग नकारात्मक तथा सकारात्मक प्रभावका बारेमा राय सुझाबहरू सङ्कलन गरी मुचुल्का तयार गर्ने काम सम्पन्न भएको छ।

अन्तर्क्रिया कार्यक्रममा वडा नं. ५ देखि वडा नं. ३ सम्मको करिब १६ किलोमिटर सडकको सर्भे गरी कालोपत्रे गर्न प्रारम्भिक वातावरणीय परीक्षण गरेको महर्जनले बताएका छन्।

सडक स्तरोन्तिका क्रममा प्रभावित नागरिकले विभिन्न राय सुझाब पनि दिएका छन्। सुझाबको क्रममा स्थानीयहरूले ठाउँठाउँमा आवश्यकतानुसार प्रतिक्षालय, सिचाइ, खानेपानी र ढल निकासको लागि बाधा नपर्ने गरी उचित व्यवस्थापन हुनुपर्नेमा जोड दिएका छन्। सडक निर्माणले स्थानीयबासीलाई सुकुम्बासी नै हुने गरी घरजग्गा कटान हुनेगरी गर्न नहुने र तोकिएको समयमै कार्यसम्पन्न हुनुपर्ने सुझाब राखिएको छ।