सिन्धुलीमाढी। सिन्धुली जिल्लाकै ठूलो सिद्देश्वर खानेपानी तथा सरसफाई संस्थाको अध्यक्षमा घनश्याम देवकोटा निर्वाचित भएका छन्। उनले नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त प्यानललाई पराजित गर्दै निर्वाचित भएका हुन्। 

लघु नगर निर्वाचनको रूपमा हेरिएको निर्वाचनमा एमालेका घनश्याम देवकोटाले निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका सुरज मिश्र (शेखर) लाई २ सय ८१ मतले पराजित गरेका हुन्। देवकोटा १ हजार ६२ मत सहित विजय भएका छन् भने मिश्रले ७ सय ८१ मत प्राप्त गरेका थिए। त्यसै स्वतन्त्र उम्मेदवार लोक विक्रम थापाले ४०१ मत पाएका थिए। ९८ मत बदर भएको छ ।

संस्थाको बहुमत सदस्य पनि एमालेका उम्मेदवार विजयी भएका छन् । विधान अनुसार अध्यक्ष सहित ५ खुल्ला सदस्य र ३ महिला सदस्य पदको लागि निर्वाचन भएको थियो। सदस्यहरूमा एमालेका शारदा ढकाल (चौलागाई), सुमना थापा, इन्द्र बहादुर भुजेल, दशरथ कुमार थापा र कपिल कुमार श्रेष्ठ विजयी भएका छन्। त्यसैगरी, काँग्रेसका चन्द्रकला खड्का र लवदेव जोशी विजयी भएका छन्।

स्वतन्त्र उम्मेदवार विज्ञान ढकाल विजयी हुँदा गठबन्धनमा माओवादीको तर्फबाट उम्मेदवार बनेका सबै उम्मेदवार पराजित भएका छन् । यस निर्वाचनलाई एमाले र काँग्रेस माओवादीबीचको गठबन्धनले प्रतिष्ठाको रूपमा लिइएको थियो।

सिद्धेश्वर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा सिन्धुलीको कमलामाई नगरपालिकाका ४, ५ ,६ र ७ वडाहरूका कुल २हजार ८ सय ९३ उपभोक्ता रहेका छन्। गत शनिवार भएको निर्वाचन २ हजार ३ सय ४२ मत खसेको थियो ।