२७ मंसिर, काठमाडौं । काभ्रेमा बस मंगलबार साँझा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ जना महिला र आठ पुरुष रहेका छन् । जसमध्ये दुई जना बालिका र एक जना बालक रहेका छन् ।
घाइतेहरुको उद्धार गरी विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । साँझा दुर्घटना भएकोले मृतकहरुको पहिचान हुन बाँकी नै छ । घटना काभ्रेको बेथानचोक गाउँपालिकामा पर्ने चलाल गणेशस्थान भएको हो ।
दुर्घटनामा बाईस जना घाइते भएका छन् । घाइतेहरुमध्ये नौ जना धुलिखेल अस्पताल, नौ जना चीर शिर मेमोरियल र चार जनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।
काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवारका अनुसार तिब्र गतिका कारण अनियन्त्रित भई भित्तामा ठोक्किएर सडकमा पल्टिँदा ठूलो मानविय क्षति भएको बताउनु भयो ।
बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका-५, च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस मंगलबार साँझ दुर्घटनामा परेको हो ।
घटनास्थलबाट नेपाल प्रहरी र नेपाली सेनाको टोलीले उद्धार कार्य गरेको र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको लागि यथाशक्य प्रयास गरिएको जनाउनु भयो ।
गाडिमा कति सवार थिए भन्ने कुरा एकिन हुन बाँकी हुनुका साथै दुर्घटनाबारे थप सत्यतथ्य आउन केही समय लाग्ने बताउनु भयो ।

