काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । निगमले सोमबार एक प्रेस वक्तव्य जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

गत फागुन ४ गते मूल्य बढाएको निगमले फेरी सोमबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थ डिजेल, मट्टीतेल, पेट्रोल र हवाइ इन्धनको मूल्य बढाएको हो। विज्ञप्ति  जारी गर्दै निगमले डिजेल, पेट्रोल र मटितेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धन प्रतिलिटरमा ५ रुपैयाँले मूल्य बढाईको जानकारी दिएको छ। अब, नयाँ मूल्य लागू भएपछि पेट्रोलको भाउ प्रतिलिटर ११६ रुपैयाँ र डिजेल तथा मटितेलको भाउ ९९ रुपैयाँ कायम हुने छ भने हवाई इन्धन आन्तरिकतर्फको प्रतिलिटर मूल्य ७२ रुपैयाँ पुग्नेछ।

अन्तर्राष्ट्रिय बजार कच्चा तेलको मूल्यमा भएको बृद्धिका कारण भारतीय आयल कर्पाेरेसनबाट बढेर मूल्य प्राप्त भएको निगमले जनाएको छ। खाना पकाउने ग्यासको मूल्य यथावत छ। मूल्य समायोजन गरे पनि निगम घाटमा रहेको प्रेस विज्ञप्ति मार्फत निगमले जनाएको छ। मूल्य समायोजन पछि निगमलाई पेट्रोलमा प्रतिलिटर ८.४२ पैसा, डिजेलमा प्रतिलिटर ६.५६ तथा एलपी ग्याँसमा प्रति सिलिन्डर ३९२.८२ पैसा घाटा बेहोर्नुपर्ने छ।