काठमाडौं। निर्वाचन आयोगले हाम्रो नेपाली पार्टीका अध्यक्ष अनन्तराज घिमिरे र सोही पार्टीका प्रतिनिधिसभा सदस्यका काठमाडौँ क्षेत्र नं २ का उम्मेदवार कोषराज सुवेदीलाई दलीय आबद्धता स्पष्ट नगरी ‘काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको साथ छ, लौरोको विजय निश्चित छ’, भनी प्रचार–प्रसार गरेको विषयमा स्पष्टीकरण सोधेको छ ।
उक्त कार्यबाट मङ्सिर ४ गते हुने निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभावित गर्ने तथा आम मतदातासमेतलाई भ्रमित गर्ने कार्य भएकाले आफूलाई अमूक व्यक्तिको समर्थन छ भनी सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार गर्दा जानाजान प्रचलित निर्वाचन कानुनको उल्लङ्घनसमेत भएको देखिएको आयोगको पत्रमा जनाइएको छ । आयोगले उक्त दल र दलका उम्मेदवारले स्वतन्त्रको लौरो अभियान भनी प्रचार–प्रसार गरेको विषयमा यसपूर्व नै पत्राचार गरेको थियो ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ मा सबैले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (ञ)मा सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नहुने र खण्ड (ठ)मा सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच) गर्नेजस्ता भ्रामक टीका–टिप्पणी गर्न वा गराउन नहुने भन्ने व्यवस्था छ ।
आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ बमोजिम निर्वाचन आचारसंहिता बनाई असोज १२ गतेदेखि लागू गरिसकेको छ । ऐनको दफा २३ को उपदफा (१) मा ‘दफा २२ बमोजिम आयोगले बनाएको आचारसंहिता पालना भए÷नभएको सम्बन्धमा आयोगले आवश्यकतानुसार संयन्त्र निर्माण गरी जाँचबुझ तथा अनुगमन गर्न सक्ने’ तथा उपदफा (२) ‘उपदफा (१) बमोजिम जाँचबुझ वा अनुगमन गर्दा कसैबाट आचारसंहिताको उल्लङ्घन भएको देखिएमा त्यस्तो काम तुरुन्त रोक्न वा बदर गर्नका लागि आयोगले सम्बन्धित राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आदेश दिनेछ’ भन्ने व्यवस्था छ ।
उपदफा (३) मा दफाको उपदफा (२) बमोजिम आयोगले दिएको आदेशबमोजिम काम कारबाही नरोक्ने वा बदर नगर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले रु एक लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।
“उल्लेखित सन्दर्भमा तपाईँको दललाई आयोगबाट यसपूर्व दिइएको निर्देशनविपरीत पुनः सोही कार्य दोहोरिएबाट तपाईँलाई निर्वाचन आचारसंहिताको उल्लङ्घनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम रु एक लाखसम्म जरिवाना किन गर्नु नपर्ने हो ?”, सो पार्टीका अध्यक्ष घिमिरेलाई सोधएको पत्रमा भनिएको छ, “यो पत्र तपाईँलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र आयोगमा आफैँ उपस्थित भई वा आफ्नो प्रतिनिधिमार्फत लिखित स्पष्टीकरण पेश गर्नुहोला, अन्यथा प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरा निर्णयानुसार अनुरोध छ ।”
दलीय आबद्धता स्पष्ट नगरी ‘काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन (बालेन्द्र) शाहको साथ छ, लौरोको विजय निश्चित छ’ भनी प्रचार–प्रसार गरेको सोही विषयमा सोही आयोगले उक्त दलका उम्मेदवार सुवेदीलाई बेग्लै पत्र पठाई स्पष्टीकरण सोधेको हो ।
महानगरका प्रमुख शाहलाई स्पष्टीकरण
आयोगले काठमाडौँ महानगरपालिकाका प्रमुख शाहलाई सो पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारले ‘जय लौरो’ नामक फेसबुक पेजसमेतबाट प्रमुख शाहको समर्थन रहेको भनी गरेको प्रचार–प्रसारबारे स्पष्टीकरण सोधेको छ ।
देशको राजधानी सहरसमेत रहेको महानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भई कार्यभार सम्हालेको अवस्थामा उक्त दलसँग कुनै आबद्धता नै रहे÷भएको जस्तो गरी शाहको तस्वीर र नाम निरन्तर प्रयोग भइरहेको विषयमा आयोगले ध्यानाकर्षणसहित पत्र पठाएको हो ।
“निर्वाचन आयोग नेपालले कुनै पनि तवरबाट निर्वाचनको स्वच्छता र निष्पक्षता कायम रहोस् भनी सदैव चासो राख्दछ, संविधान र प्रचलित निर्वाचनसँग सम्बन्धित कानुनको आधारमा निर्वाचन सम्पन्न गर्ने क्रममा ऐन, कानुनको परिकल्पनाभन्दा बाहिरका उपायहरू प्रविधिमार्फत अवलम्बन गरी निर्वाचन कानुनबाहेकका कानुनको उल्लङ्घन हुनसक्ने विषयमा समेत आयोग सचेत छ”, आयोगको स्पष्टीकरणमा भनिएको छ, “उल्लेखित सन्दर्भमा हाम्रो नेपाली पार्टीसँग यहाँको कुनै कानुनी सम्बन्ध रहेको भन्ने आयोगमा रहेको उक्त दलको अभिलेखबाट नदेखिएको अवस्थामा सोही तथ्यमा विश्वस्त हुँदै पत्र प्राप्त भएको दुई दिनभित्र जवाफ उपलब्ध गराइदिन अनुरोध छ ।”
आयोगले शाहलाई इञ्जीनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीसँग तपाईँको कुनै आबद्धता छ, छैन ?, हाम्रो नेपाली पार्टीसँग कुनै दलगत आबद्धता छैन भने उक्त दलले तस्वीर र नाम प्रयोग गरी आफ्नो दल र उम्मेदवारहरूको मत निरन्तर मागिरहेको देखिएकाले सो कार्य गर्न कुनै व्यक्त वा अव्यक्त सहमति छ, छैन ? भनेर सोधेको छ ।

