फाइल तस्विर

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले जनप्रतिनिधिले गलत काम गरे नागरिक अगुवा सम्मिलित छानविन समिति गठन गर्नुपर्ने बताउनुभएको छ । 

काठमाडौँ निर्वाचन क्षेत्र नं ५ विशालनगरमा बुद्धिजीवी तथा पेशागत समूहले आज आयोजना गरेको ‘बृहत् अन्तरक्रिया तथा साक्षात्कार’ कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । 

नेता पौडेलले पाँच वर्षका लागि निर्वाचित सांसद गलत काममा मुछियो भने फिर्ता बोलाउन पाउने व्यवस्था हुनुपर्ने बताउनुभयाे । 

उहाँले निर्वाचन जितेको एक वर्षभित्र जनताको समस्या समाधान गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । एक वर्षभित्र बाटोघाटो, खानेपानी, स्वास्थ्यलगायतका समस्या समाधान गर्ने उहाँकाे भनाइ छ । 

उहाँले काठमाडौँ निर्वाचन क्षेत्र नं ५ का जनताको समस्या थाहा पाउन ‘सांसद एप’ निर्माण गर्ने बताउनुभयो । “सांसद एपमार्फत् समस्या छिटो थाहा हुने भएकाले तत्काल समाधान गर्न सकिन्छ”, उहाँले भन्नुभयो । 

पौडेलले सांसद विकास कोषको पैसालाई कहाँ लगानी गर्ने भन्नेबारे नागरिक अगुवा समिति निर्माण गर्ने उहाँकाे भनाइ छ ।