काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मानव अङ्ग दान गर्ने कामलाई राष्ट्रिय अभियानका रुपमा अघि बढाउनुपर्ने बताउनुभएको छ । मारवाडी सेवा समितिले आज पशुपति गौशाला धर्मशालामा आयोजना गरेको ‘८२ औँ गोपाष्टमी उत्सव–२०७९’को अवसरमा उहाँले किड्नीलगायतका अङ्ग फेल भएर बसेकाको पुनर्जन्म हुने भएकाले मृत्यु पर्यन्त अङ्गदान गर्ने कार्यलाई अभियानको रुपमा अघि बढाउन उपयुक्त हुने बताउनुभयो ।
मन्त्री श्रेष्ठले दान गरिएको अङ्गले मान्छेको पुनर्जन्म गराउने र उनीहरुको स्वस्थ जीवनले मुलुकलाई समृद्ध बनाउन योगदान पु¥याउने भएकाले पनि मानव अङ्ग दान अतिआवश्यक रहेको बताउनुभयो । “हामीसँग भएका केही अङ्ग यस्ता छन्, जसले मृत्युपछि पनि काम गर्दछन्, त्यस्ता अङ्गलाई दान गरे नयाँ कुनै व्यक्तिले नयाँ जीवन प्राप्त गर्न सक्छन्”, उहाँले भन्नुभयो । अङ्ग दान गरेर अरुको जीवन दान गर्नु ठूलो मानवीय सेवा भएकाले यसलाई व्यापक बनाएर लैजानुपर्ने उहाँको भनाइ थियो ।