काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य इन्जिनियर मोहन आचार्यले देशको आर्थिक विकास र संविधानको रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताउनुभएको छ ।
रसुवागढी समाजद्वारा सोमबार काठमाडौँमा आयोजना गरिएको कार्यक्रममा लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट रसुवाको प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका आचार्यले देशको विकास र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धन निर्माण भएको बताउनुभयो ।
नेता आचार्यले रसुवाको समृद्धि आफ्नो प्रमुख प्राथमिकता रहेको बताउनुभयो । “समुन्नत रसुवा, समृद्ध रसुवाली निर्माणको अभियानलाई सफल बनाउन गठबन्धनको उम्मेदवारको जीत आवश्यक छ”, उहाँले भन्नुभयो । कृषि, जलविद्युत्, पर्यटन, व्यापार व्यवस्थापनको समन्वयात्मक विकास नै समृद्ध रसुवा निर्माणको आधार भएको उहाँको भनाइ छ ।
उहाँले भौगोलिकरूपमा पिछडिएको रसुवालाई सडक सञ्जालमार्फत जोड्न सके रसुवाको विकासले गति लिने बताउनुभयो ।

