काठमाडौै । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित लार्केपास क्षेत्रमा गएको पाँच दिनदेखि बेपत्ता भएका एक पथप्रर्दशकको शव भेटिएको छ । सोलुखुम्बु जिल्ला पासाङ ल्हामु गाउँपालिका–१ घर भएका ३८ वर्षीय पथप्रर्दशक फुछेत्तर लामाको आज शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केदार खनालले जानकारी दिनुभयो ।

यही असोज २० गते दुई जर्मन नागरिकलाई मनाङको भीमथाङ छाडेर फर्कनुभएका लामा फर्कने क्रममा एक्कासि बेपत्ता हुनुभएको थियो । लामासँगै गएका चुमनुब्री गाउँपालिका–२ का फूर्वा लामाले सामागाउँ प्रहरी चौकीमा पथप्रर्दशक लामा बेपत्ता भएको बारेमा जानकारी दिएपछि प्रहरीले उहाँको खोजी सुरु गरेको थियो ।

“घटनाको दुई दिनपछि २२ गतेमात्र गाइड हराएको भन्ने बारेमा सँगै गएका पोर्टरले खबर गरेपछि उहाँ बेपत्ता भएको थाहा भएको हो”, प्रहरी उपरीक्षक खनालले भन्नुभयो, “घटनाको जानकारी पाएलगत्तै प्रहरीले खोजी गर्दा आज शव फेला पर्‍यो ।” लामाको शव उद्धार गरी सामागाउँमा ल्याई मुचुल्का तयार पारेर एभरेष्ट एयरको हेलिकप्टरमार्फत शव परीक्षणका लागि काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक खनालले जानकारी दिनुभयो ।