सिन्धुलीमाढी। निजामती कर्मचारी संगठन जिल्ला समिति सिन्धुलीको आयोजनामा नजिकिँदै गरेका चाडपर्वहरूको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। बुधबार जिल्ला समन्वय समिति सिन्धुलीको सभाहलमा एक कार्यक्रमबीच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो।

शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्जसमेत रहनु भएका पुरुषोत्तम दाहाले जिल्लामा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई सांगठनिक रुपमा खुलेर अगाडी बढ्नु पर्ने बताउनु भयो। इन्चार्ज दाहालले कार्यालय समयसीमाभित्र कार्यालयको काममा एकाग्र भएर लाग्नु पर्ने र त्यस बाहेका समय आफ्नो पार्टीका लागि समय दिनुपर्ने बताउनु भयो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रीय सल्लाहकार सदस्य केशव देवकोटाले पार्टी सञ्चालनको एउटा संयन्त्रको रुपमा कर्मचारी संगठन स्थायी रुपमा रहेकाले पार्टीलाई रणनीतिक सहयोग हुने विश्वास व्यक्त गर्नु भयो। त्यस्तै, नेकपा एमालेकै अर्का नेता कमलजंग राईले पार्टी एउटा सिङ्गो शरीर भएको र निजामती कर्मचारी संगठन लगायत घटक संघ/संगठनहरू जनियन्द्रीयहरू रहेको र त्यस्ता जनिन्द्रीयहरूले जति राम्रो काम गर्नसक्यो सिङ्गो शरीर त्यति नै निरोगी हुने बताउनु भयो।

शुभकामना आदानप्रदान कार्यक्रममा गत असोज ७ गते सम्पन्न पेशागत महासंघका नवनिर्वाचित जिल्ला समितिलाई बधाई ज्ञापन गरिएको थियो। त्यस्तै, निजामती कर्मचारी संगठन केन्द्रीय समितिले आयोजना गरेको चिठ्ठा कार्यक्रमको पुरस्कार वितरण तथा जिल्लामा सरुवा तथा पदस्थापना भई आएका नयाँ निजामती कर्मचारीहरूलाई स्वागत कार्यक्रम गरिएको थियो।

कार्यक्रममा निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष पदम मगरको अध्यक्षता, नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज पुरुषोत्तम दाहालको प्रमुख आतिथ्यता तथा नेकपा एमाले केन्द्रीय सल्लाहकार सदस्य केशव देवकोटा, केन्द्रीय सदस्यहरू उमादेवी कोइराला र कमलजंग राई, प्रदेश कमिटी सदस्य तथा पूर्व मन्त्री प्रदिप कटुवाल, प्रदेश कमिटी सदस्य तथा पूर्व नगर प्रमुख खड्ग खत्री, नेकपा एमाले जिल्ला किमिटी सचिव नारायण बराल, जिल्ला कमिटी सदस्यहरू दिपेश बराल र लाल बहादुर बुढाथोकी, नेपाल निजामती कर्मचारी संगठन बागमती प्रदेशका प्रतिनिहरू लगायत जिल्लामा कार्यक्रम निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरूको सहभागिता रहेको थियो