दिपायल। हिन्दूहरुको चाड दशै तथा दीपावलीको पावन अवसरमा आजदेखि डोटीमा सुदूरपश्चिम प्रदेशस्तरीय ‘खप्तड–शैलेश्वरी गोल्डकप २०७९’ प्रतियोगिता सुरु भएको छ ।

भैरबप्रसाद गण सिलगढी, दिपायल सिलगढी नगरपालिका–६ र जिल्ला अस्पताल डोटीको संयुक्त आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय ‘खप्तड–शैलेश्वरी गोल्डकप २०७९’ फुटबल प्रतियोगिता सुरु गरिएको हो ।

उद्घाटन कार्यक्रममा प्रमुख अथिति दिपायल सिलगढी नगर पालिकाका नगरप्रमुख बाजि सिं खड्काले नगरपालिकाले खेलकुदको क्षेत्रमा लगानी लगाउँदै खेल क्षेत्रको विकास गर्ने बताउनुभयो । 
प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले खेलकुद क्षेत्रबाट मित्रतासँगै देशको चिनारी हुने भएकाले खेल क्षेत्रको विकास हुन आवश्यक रहेको बताउनुभयो । 
प्रतियोगितामा कैलाली, बाजुरा,अछाम, डोटी, डडेल्धुरा, भैरबप्रसाद गण र उद्योग वाणिज्य सङ्घ सहित सातवटा टोली सहभागी रहेका छन् ।

खप्तड–शैलेश्वरी गोल्डकप २०७९’ मा प्रथम हुने टोलीलाई रु. एक लाख, द्वितीय हुनेलाई रु.५० हजारसहित ट्रफी प्रमाणपत्र प्रदान गरिने भैरबप्रसाद गणका गणपति जनमतबहादुर कार्की वताउनुभयो । 

उहाँले प्रदेशस्तरीय फुटवल खेलले जिल्लाको कला, संस्कृतिको पहिचान तथा फुटबल खेलको विकासमा महत्वपूर्ण भूमिका र स्थानीयले सञ्चालन गरेका होमस्टेको प्रवद्र्धनका साथै व्यापार व्यवसायमा ठुलो टेवा पुग्ने बताउनुभयो।