काठमाडौं। नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान तत्काल खारेज नहुने उपाध्यक्ष गोकुल घर्ती मगरले बताउनु भएको छ। नेपालको संघीय संसद्‍मा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खारेजीको विषयमा छलफल भइरहेका बेला उहाँले त्यस्तो धारणा राख्नु भएको हो। 

मंगलबार सुनवार सेवा समाज संघीय कार्यालयमा सम्पन्न टेकबहादुर विष्णुमाया सुनुवार स्मृति कोषको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष घर्तीले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान तत्काल खारेज नहुने बताउनु भयो। उहाँले हाल प्रतिष्ठानको भुमिका बढेर नेपालले दिगो विकास लक्ष्य हाँसिल गर्ने कार्यमा प्रतिष्ठानको महत्वपूर्ण भुमिका खेलेको बताउनु भएको छ। कार्यक्रममा बोल्नु हुँदै भन्नु भयो "नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ आफैमा बलियो ऐन बनेको छ, यसको उद्देश्य नेपालमा रहेका आदिवासी जनजातिहरूको परम्परागत ज्ञान, सीप र सामाजिक, सांस्कृतिक र आर्थिक अवस्थालाई सहयोग पुर्‍याउने किसिमको रहेकाले यो आदिवासी जनजाति आयोगसँग फरक प्रकृतिको भुमिकामा छ, त्यसैले यो खारेज हुँदैन र गरिनु हुन्न ।"

उहाँले आदिवासी जनजाति आयोग नीति, निर्माण गर्ने, राज्यलाई नीति, निर्माणमा सहयोग गर्ने, सुझाब दिने, नीति, कानून कार्यान्वयन भए भएनन् भन्ने अनुगमन गर्ने आयोगका रुपमा स्थापित भएको र प्रतिष्ठान उक्त नीति तथा कार्यक्रालाई क्रियाकलापगत रुपमा कार्यान्वयन गर्ने निकायको रुपमा रहेकोले खारेज गर्न नहुने बताउनु भयो।