काठमाडौं। यु २० साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दैछन् । दुई देशबीचको खेल भारतको भुवनेश्वरमा रहेको कालीङ्गा मैदानमा बेलुका सवा सात बजे सुरु हुनेछ ।
मुख्य प्रशिक्षक मेघराज केसीले भारतसँगको आजको खेल नेपाली समर्थकका लागि विशेष रहने बताएका छन्। भारतलाई हराउन सकेमा नेपाल शीर्ष स्थानमा उक्लिनेछ । भारत प्रतियोगिताको साविक विजेता हो भने नेपालले यस प्रतियोगितामा उत्कृष्ट प्रदेर्शन गरिरहेको छ। आजको खेल नेपाल र भारत दुवैका लागि महत्त्वपूर्ण छ ।
नेपालले खेल जिते नेपाल र बङ्लादेश फाइनलमा पुग्नेछन् भने बराबरी भएमा बङ्लादेश फाइनल पुग्ने पहिलाे टाेली हुनेछ। भारतले खेल जिते फाइनलमा जाने भारतको सम्भावना बलियो बन्नेछ।
प्रतियोगिताको अङ्क तालिकामा बङ्लादेश शीर्षस्थानमा छ । उसको ३ खेलमा ९ अङ्क छ । नेपाल दोस्रो स्थानमा छ । नेपालको २ खेलमा ६ अङ्क छ । भारत २ खेलमा ३ अङ्कसाथ तेस्रो स्थानमा छ । पुछारमा रहेका माल्दिभ्स र श्रीलङ्काले अङ्क जोड्न सकेका छैनन् ।