काठमाडौं। यू-२० साफ च्याम्पियनसिपमा बुधबार भएको दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३-० ले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ। बुधबारसाँझ भारतको भुवनेश्वर स्थित कालिंगा रंगशालामा नेपालका लागि कप्तान आयुष घलान, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले १-१ गोल गर्दा नेपालले दोस्रो जित दर्ता गरेको हो।

नेपालले प्रतियोगितामा लगातार दोस्रो जित निकालेसँगै नेपाल फाइनल नजिक पुगेको छ। लगातार दोस्रो जित दर्ता गरेको नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि नेपालले दोस्रो हाफमा आक्रमण रणनीति बुन्दै दोस्रो जित दर्ता गरेको हो । नेपालका लागि खेलको ५९ औं मिनेटमा कप्तान आयुषले सुरुवाती अग्रता दिलाएका थिए ।  नेपालले खेलको ६२ औँ मिनेटमा कप्तान आयुष घलानको पासमा कृतिशको सुन्दर फिनिसिङ गोलमा अग्रता दोब्बर पार्यो। खेलको ८० औं मिनेटमा नेपालले ३-० को अग्रता लियो । सुगम सुवालको पासमा मनग्यले पेनाल्टी क्षेत्र भित्रबाट सहजै गोल गर्दै जित सुनिश्चित गरे।

नेपालले २ खेलबाट ६ अंक बटुलेको छ। दोस्रो स्थानको बंगलादेशको पनि ६ अंक रहेपनि गोलअन्तरमा नेपालले बंगलादेशलाई पछि पार्दै शर्ष स्थानमा उक्लिएको हो। प्रतियोगितामा भारत, माल्दिभ्स र श्रीलंकाले भने अंकको खाता खोलेका छैनन्। लिग चरणपछि शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ। नेपालले अब ३१ जुलाईमा भारतको सामना गर्नेछ।