सिन्धुली। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आफ्नो कार्यालयले प्रदान गर्ने सेवाको बारेमा सेवाग्राहीसँग अभिमत लिन थालेको छ। कार्यालयले माघ २६ गतेबाट प्रवाह गर्ने सेवाको गुणस्तर, सेवा प्रवाहको पारदर्शिताको विषयमा सेवाग्राहिसँग अभिमत लिन शुरु गरेको हो।
सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेका अनुसार कार्यालयले प्रवाह गर्ने सेवाको गुणस्तर, कर्मचारी र सेवाग्राहीबीचको सम्बन्ध, सेवाको पारदर्शिता लगायत विषयमा सेवाग्राहीको सन्तुष्टि मापन गर्न र सो सम्बन्धमा आवश्यक सुधारलाई निरन्तरता दिन माघ २६ गतेबाट बर्हिगमन अभिमत संकलन लागू गरिएको जनाउनु भएको छ। साथै प्र.जि.अ. पाण्डेले कार्यालयले थालेको अभिमत सङ्कलनमा सहभागि हुन सबै सेवाग्राहीसँग अनुरोध गर्नुभएको छ।
कार्यालयले सञ्चालन गरेको अभिमत सङ्कलनका सम्बन्धमा आज (बुधबार) कार्यालयमा सेवा लिन आएका सेवाग्राही बर्मा बहादुर विश्वकर्मासँग कार्यालयको सेवा प्रवाह र पारदर्शीताको सम्बन्धमा बुझ्दा कार्यालयको सेवा र कर्मचारीको व्यवहार पहिलाको भन्दा धेरै उत्कृष्ट रहेको अभिमत दिएका छन्। साथै, शौचालयको व्यवस्थापनमा ध्यान दिनपर्ने सुझाब सहित उनले प्रमुख जिल्ला अधिकारी पाण्डे समक्ष अभिमत फारम बुझाएका छन्।
साथै, कार्यालयले अपाङ्ता भएका व्यक्ति, असक्त, जेष्ठ नागरिक र गर्भवती महिलाले कार्यालयबाट प्रदान गरिने सेवा नागरिकता सेवा लिन लाइनमा नबसी प्राथमिकताका साथ सेवा प्राप्त गर्न सक्ने गरि विशेष डेस्क स्थापना गरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको छ। त्यस्ता विशेष अवस्थाका सेवाग्राहीले नागरिकता शाखा कोठा नं १०६ 'क' विशेष डेस्कमा सम्पर्क राख्न अनुरोध कार्यालयले गरेको छ।

