जनकपुर। उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०७८/७९ मा ४९ दशमलव १५ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । आ.व. २०७८/७९ मा कायम भएका चार हजार ७२४ मुद्दामध्ये दुई हजार ३२२ मुद्दा फछ्र्योट गरिएको थियो । 

अदालतका रजिष्ट्रार खङ्गराज अधिकारीका अनुसार आ.व. २०७७/७८ देखि जिम्मेवारी सरेर आएका दुई हजार ४६६ मुद्दामध्ये एक हजार ७४४ र आ.व. २०७८/७९ मा नयाँ दर्ता भएका दुई हजार २५८ मुद्दामध्ये ५७८ मुद्दा फछ्र्योट गरिएका थिए । अघिल्लो आ.व.बाट जिम्मेवारी सरेर आएका ७२२ र आ.व. २०७८/७९ मा नयाँ दर्ता भएका मुद्दामध्ये एक हजार ६८० मुद्दा फछ्र्योट गर्न बाँकी रहेको अधिकारीको भनाइ छ । आ.व. २०७८/७९ मा सरल किसिमका १२२, समान्य किसिमका ४५६, विशेष किसिमका ९९७ तथा मार्ग समूहमा नपर्ने/डिसीएम लागू हुनुपुर्वका ७४७ मुद्दा फछ्र्योट भएका छन् ।  

आ.व. २०७७/७८ मा सो अदालतले ३३ प्रतिशत अर्थात् एक हजार २१६ मुद्दा फछ्र्योट गरेको थियो भने आ.व. २०७६/७७ मा ५२ दशमलव २० प्रतिशत अर्थात् दुई हजार ७२ मुद्दा फछ्र्योट गरेको थियो । सो अदालतले आ.व. २०७५/७६ मा सबैभन्दा बढी ७२ दशमलव ९६ अर्थात् तीन हजार २१२ मुद्दा फछ्र्योट गरेको थियो । 

कोरोना महामारी, कानुन व्यवसायीको आन्दोलन र त्यसपछि न्यायाधीशहरूको सरुवालगायत कारणले अपेक्षितरूपमा मुद्दाको फैसला गर्न नसकिएको अदालतका कामु मुख्यन्यायाधीश विनोद शर्माले बताउनुभयो । अघिल्लो आ.व.को तुलनामा यस वर्ष बढी मुद्दा फैसला गर्न सफल भएको उहाँको भनाइ छ ।