काठमाडौं। कक्षा १० मा अध्ययनरत शेरचन तामाङले जसले फोहर गर्छ उसैले व्यवस्थापन गर्दा शहर सफा हुने सुझाव दिनुभएको छ । शुक्रबार साँखुस्थित भगवती माध्यमिक विद्यालयमा शहरी विकास मन्त्रालयले आयोजना गरेको ‘विद्यार्थीसँग मन्त्री’ अन्तरक्रिया कार्यक्रममा तामाङले फोहर व्यवस्थापनका लागि नयाँनयाँ विकल्पको खोजी गरिनुपर्ने बताउनुभयो ।

ठूलाठूला कम्पनी आफैँले फोहर व्यवस्थापनका लागि उपायको खोजी गर्नुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो, “चाउचाउ कम्पनीले १० खोल लिएर एउटा चाउचाउ दिने व्यवस्था भएमा कोही पनि बाहिर फाल्दैन।”

कक्षा १० कै विद्यार्थी सुरज तामाङले दैनिक जीवनमा सुधार ल्याउँदा फोहर कम उत्पादन हुनसक्ने बताउनुभयो । “कम फोहर उत्पादन गर्ने वा पुनःप्रयोग बढाउँदा सडकमा फोहर कम आउनसक्छ”, उहाँले भन्नुभयो, “प्लाष्टिकका झोला र कागज उद्योगलाई नै दिन सकिन्छ ।”

विद्यार्थीले मन्त्री चौधरीलाई सडक व्यवस्थापन, जनसङ्ख्या नियन्त्रण, समानुपातिक विकास, लागुऔषध नियन्त्रणलगायतका विषयमा प्रश्न राख्दै सुझाव राखेका छन् । कक्षा ९ मा अध्ययनरत सुरज बैठाले सडकमा सवारी जाम बढिरहँदा एम्बुलेन्ससमेत छिर्न नसक्दा बिरामीको बाटोमै मृत्यु भइरहेको बताउनुभयो । 

सवारीसाधनको जाम नियन्त्रणका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने उहाँको सुझाव छ । उहाँले भन्नुभयो, “आकाशे पुल, ट्राफिक बत्ती जडान गर्नुपर्ने र ट्राफिक नियम सबैलाई समानरूपमा लागु हुनुपर्छ ।”   

कक्षा १० मा अध्ययनरत प्रज्वल दाहालले सरकारले पूर्वाधारको विस्तारमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो । घरघरमा विद्युत, खानेपानी र इन्टरनेट हुनुपर्नेमा उहाँको जोड छ । 

शहरीकरण बढ्दा नागरिकलाई सुविधासँगै विकृति पनि बढ्ने जोखिम हुने उल्लेख गर्नुभयो । शहरी विकासँगै अपराधिक घटना बढ्ने र लागुऔषधको प्रयोग बढ्ने जोखिम हुने उहाँको भनाइ छ । अपराध नियन्त्रणका लागि कानून कडा बनाएर लागु गर्नुपर्नेमा उहाँको जोड छ । 

पहिले नै योजना बनाएर मात्रै विकास गर्नुपर्नेमा स्नेहा स्याम्बोको जोड छ । ढल र खानेपानीको पाइप एकै ठाउँमा सँगसँगै राखिन नहुने उहाँले बताउनुभयो । सबैतिर समानरूपमा विकास हुनुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो, “काठमाडौँमा नजिकै नजिकै विद्यालय छन् तर दुर्गममा टाढाटाढा पुग्नुपर्ने अवस्था छ ।”

मन्त्री चौधरीले बालबालिकाबाट शहरी विकासका समस्या र त्यसको समाधानको भोगाइका आधारमा सुझाव आउने बताउनुभयो । विज्ञसँग शहरी विकासका विषयमा कुराकानी गर्दा पढेका कुरा मात्रै आउने तर बालबालिकाबाट जे देखिन्छ त्यही आउने उहाँको भनाइ छ । बालबालिकासँग सबैभन्दा राम्रो ज्ञान हुने र त्यसलाई उपयोग गरिनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्र निर्माणमा विद्यार्थीको पनि योगदान हुनुपर्छ ।”

बालबालिकालाई आपसमा मिलेर पनि अघि बढ्न मन्त्री चौधरीले सुझाव दिनुभयो । सबै अवसर मैले मात्रै पाउनुपर्छ र अरुलाई केही दिनु हुँदैन भनेर कसैले पनि सोच्न नहुने उहाँले बताउनुभयो । काठमाडौँको फोहरबाट पर्याप्त मल उत्पादन गर्न सकिने र ग्यास उत्पादन गरेर व्यवस्थापन गर्न सकिने उहाँले बताउनुभयो । काठमाडौँको फोहर फालिने स्थान ओखरपौवामा धेरै किसिमका सामाजिक समस्या भइरहेको उहाँको भनाइ छ । 

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रामचन्द्र दङ्गालले भोलि शहरी विकास मन्त्रालयको राजनीतिक र प्रशासनिक नेतृत्वमा आजकै बालबालिका पुग्ने बताउनुभयो । योजनाबद्ध शहर विकासका लागि एक दशक पहिलेबाट छुट्टै मन्त्रालय बनेको र अहिले आवश्यक कानून निर्माण भइरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “शहरको योजनाबद्ध विकासकै लागि भनेर शहरी विकास नीति ल्याउन तयारी अघि बढाइएको छ ।”

मन्त्रालयका सहसचिव पद्मकुमार मैनालीले बालबालिकाबाट रचनात्क सुझाव आएको र त्यसलाई कार्यान्वयनमा लैजाने बताउनुभयो । फोहर व्यवस्थापनलगायत धेरै विषयमा बाल क्लबलगायतका सामाजिक संस्थामार्फत जनचेतना फैलाउन सकिनेमा उहाँको जोड छ ।