काठमाडौं। नेपालले स्कटल्याण्डमाथि सहज जित निकालेको छ। आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई क्रिकेट सिरिजमा घरेलु टोलीलाई ५ विकेटले पराजित गर्दै नेपालले सहज जित दर्ता गरेको हो।
टस जितेर फिल्डिङ रोजेको नेपालले आफ्नो तीव्र गतिका बलर र ओपनर आसिफ शेखको उत्कृष्ट प्रदर्शनमा स्कटल्याण्डलाई जितेको छ। यसअघि एकदिवसिय र टि२० दुबैमा नेपालले स्कटल्यान्डलाई हराउन सकेको थिएन, स्कटल्याण्डको घरेलु मैदानमा भर्खरै सम्पन्न खेलमा जित निकालेसँगै नेपालले पहिलो पटक स्कटल्याण्डलाई जितेको छ।
नेपालको कसिलो तीब्र गतिका बलरको सहयोगमा ४२ दशमलभ ५ ओभरमा मात्र १ सय ४४ रनमा अल आउट गरेको थियो। जवाफी ब्याटिङ्मा नेपालले सो लक्ष्य ५१ दशमलव १ ओभरमा पुरा गर्दै ऐतिहासिक जित दर्ता गरेको हो।नेपालका लागि सहज जित दर्ता गर्न युवा ओपनर आसिफ शेख ६२ बलमा १० चौका र १ छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिए। रोहित पौडेल ३१ बलमा ५ चौकासहित ३४ रनमा अविजित रहे। अर्का ओपनर कुशल भुर्तेलले २८ बलमा ४ चौकासहित २७ रनमा आउट भए।
नेपालको जितमा सोमपाल कामीले १० ओभरमा ४० रन खर्चेर ३ विकेट लिए। आदिल अन्सारीले १० ओभरमा १ मेडनसहित ३१ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित ३५ रन दिएर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरी र करण केसीले एक एक विकेट लिए।
खेलमा स्कटल्याण्डको ७९ रनमा ८ विकेट गुमेको अवस्थामा पूनरागमन गर्दै स्कटल्याण्डका अलराउण्डर गेभिन मेनले ५९ बलमा ७ चौका र १ छक्कासहित ६४ रनमा अविजित रहँदै सम्मान जनक योगफल जोडेको थियो।
जितसँगै नेपाल अंक तालिकामा पाँचौं स्थानमा उक्लिएको छ। नेपालले हालसम्म १८ खेल खेलिसकेको छ।
स्कटल्यान्ड भ्रमणमा नेपालको खेल तालिका
असार ३२ ( जुलाई १६) – नेपालविरुद्ध नामिबिया
साउन १ ( जुलाई १७) – नेपालविरुद्ध स्कटल्यान्ड
अंक तालिका
ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारका साथ ४४ अंक जोड्दै शीर्षस्थानमा छ । स्कटल्यान्ड २२ खेलमा १४ मा जित र ६ मा हारका साथ ३० अंक जोड्दै दोस्रो स्थानमा छ । युएई २२ खेलमा १२ मा जित र ८ मा हारसहित २६ अंकका साथ तेस्रो स्थानमा छ ।
अमेरिका २४ खेलमा ११ मा जित र १२ मा हारका साथ २२ अंक जोड्दै चौथो स्थानमा छ । नेपाल १८ खेलमा ८ मा जित र ९ मा हारका साथ १७ अंक जोड्दै पाँचौं स्थानमा छ । नामिबिया १६ खेलमा ८ मा जित र ८ मा हार सहित १६ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २० खेलमा १ मा जित र १९ मा हारका साथ पुछारमा छ ।