काठमाडौं। राष्ट्रव्यापी सनातन धर्म संस्कृति सम्मेलनले संविधान र कानूनले निषेध गरेको धर्म परिवर्तन नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न माग गरेको छ।

राष्ट्रिय सनातन धर्म संस्कृति महासङ्घद्वारा आयोजित दुई दिवसीय सम्मेलनले आज सङ्कल्प प्रस्ताव पारित गर्दै संविधानमा नै व्यवस्था भएको परम्परादेखि चलिआएको धर्म, संस्कृति र परम्पराको रक्षा गर्न आवश्यक अध्ययन तथा सुझावसहितको प्रतिवेदन पेस गर्न अविलम्ब एक समिति गठनका लागि माग गरेको हो।

सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्र पुनःस्थापना गर्ने कार्यमा मन, वचन र कर्मले प्रतिबद्ध रहने सङ्कल्प गरेको सम्मेलनले सर्वपक्षीय सहमतिका आधारमा सनातन हिन्दू राष्ट्र स्थापना गर्न सम्बद्ध सबै पक्षसँग आग्रह गरेको छ।

धर्म संस्कृतिको आडमा कायम रहेको सामाजिक सांस्कृतिक विभेद, छुवाछूत प्रथा र अन्धविश्वासले सनातन धर्म संस्कृतिलाई कमजोर बनाइरहेको ठहर गर्दै सम्मेलनले यस्ता समस्या र चुनौतीको निराकरण गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ।

सनातन हिन्दू राष्ट्रको पहिचान संवैधानिकरूपमा पुनःस्थापना गर्न एवं सनातन धर्म, संस्कृति र परम्परामाथि भइरहेको आक्रमण रोक्न सम्पूर्ण धार्मिक सङ्घसंस्था, धार्मिक गुरु, स्वामी, पण्डितहरुका बीचमा एकता, समन्वय र सहकार्यको निमित्त आग्रह गरेको सम्मेलनले गौरक्षाका निम्ति प्रत्येक पालिकामा कम्तीमा एउटा गौशाला निर्माण गर्न देशका सम्पूर्ण पालिकाहरुलाई आग्रह गरेको छ।

सर्वधर्म समभाव मान्यताअनुसार हिन्दू, बौद्ध, किरात, जैन, शिख इस्लाम, इसाई समुदायसँग परस्पर सद्भाव, एकता र सहकार्य गरेर देशको मौलिक चरित्रलाई नष्ट पार्ने धर्म परिवर्तन कार्य तत्काल रोक्न सम्मेलनले अपिल गरेको छ।

नेपाल हिन्दू, बौद्ध र किरातजस्ता विश्वका महानतम आदर्श, दर्शन र धर्महरुको उद्गमस्थल भएकाले वेद, उपनिषद्, भागवत गीता, अष्टावक्र गीता, मुन्धुम जस्ता महान् ग्रन्थहरूको महिमा र महत्वका विषयमा नयाँ पिँढीलाई जागरुक तुल्याउनका साथै माध्यमिक तहसम्म अधिकांश भाषाको जननी मानिएको संस्कृत विषय अनिवार्य गर्न सम्मेलनले माग गरेको छ।