काठमाडौं। सार्वजनिक नीति तथा सुशासनसम्बन्धी चौथो दक्षिण एसियाली सम्मेलन आजदेखि शुरू भएको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको उक्त दुई दिने सम्मेलनको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभयो ।

‘लोकतन्त्रको आधार: नेपाली सङ्घीयताको जग’ को मुख्या विषय राखिएको सम्मेलनमा दक्षिण एसियाका विज्ञ, नीति निर्माणकर्ता÷कार्वान्यनकर्ता र राजनीतिक नेतृत्वको सहभागिता रहेको छ । क्षेत्रको सार्वजनिक नीति र शासनसम्बन्धी जानकारी र अनुभवहरू आदानप्रदान गराएर आपसी समन्वय, साझेदारी र एकआपसबाट सिक्ने अवसर पनि प्रदान गर्न सम्मेलन आयोजना गरिएको हो ।

प्रतिष्ठानले दक्षिण एसियाका समान प्रकृतिका सार्वजनिक नीति तथा शासनसम्बन्धी विषयमा शोध, अनुसन्धान तथा कार्य गर्ने अन्य संस्थासँगको सहकार्यमा विगत वर्षहरूमा तीन वटा सार्वजनिक नीति तथा सुशासनसम्बन्धी दक्षिण एसियाली सम्मेलनको सफलतापूर्वक आयोजना गरिसकेको छ । 

यसै सन्दर्भमा नेपालमा सङ्घीयता लागु भएर तीन तहकै निर्वाचित सरकारहरू गठन भएर पहिलो कार्यकाल सक्पन्न गरिसकेको÷हुन लागेको समयमा यो वर्षको (चौथो) सम्मेलन नेपालमा सङ्घीयताको आधार वर्षहरुको विश्लेषणमा केन्द्रित रहने उद्देश्यका साथ सम्मेलन आयोजना भएको हो ।

यस्ता क्षेत्रीय सम्मेलनहरूले नेपाल र अन्य दक्षिण एसियाली मुलुकमा सार्वजनिक नीति, विकास गतिविधि र शासन व्यवस्थाका अनुभवका बारेमा छलफल र साझेदारी गर्न मञ्च उपलब्ध गराउँदै लोकतन्त्रलाई प्रगाढ बनाउनका लागि साझा समझदारी बनाउने र त्यसमा सामना गर्नुपर्ने समस्या र समाधान गर्ने तरिकाहरूका बारेमा छलफल गर्ने वातावरण सृजना गर्ने विश्वास लिइएको छ । 

त्यसैगरी तथ्यमा आधारित सार्वजनिक नीति निर्माणको संस्कृति प्रवद्र्धन गर्न र सङ्घीय प्रणालीका मुद्दाहरू र अवसरहरू पहिचान गर्दै सङ्घीय प्रणालीमा विकास परिणाम प्राप्त गर्न आवश्यक ज्ञान र व्यावहारिक रणनीतिको क्षमता विकास गर्न पनि सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।