काठमाडौं। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले जनताको समस्यालाई सक्दो छिटो समाधान गरी स्थानीय सरकार भएको अनुभूति दिलाउन काठमाडौँ महानगरपालिकालाई आग्रह गर्नुभएको छ । कामपाको ११औँ नगरसभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नवनिर्वाचित जनप्रतिनिधिले जनताको मन जित्ने गरी नयाँ ढङ्गले काम गर्नेमा आफू ढुक्क रहेको बताउनुभयो ।
काठमाडौँ उपत्यका सांस्कृतिक सम्पदाको प्रतीक रहेकाले त्यसको संरक्षणमा अभिभावकत्व गर्नु कामपाको दायित्व भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “देशको ठूलो र मुख्य कामपा रहेकाले अन्य स्थानीय तहलाई प्रेरणा मिल्ने गरी काम गर्नुपर्छ ।” युवा जोशले मात्र विकास नहुने भन्दै उहाँले जोशमा होस पु¥याएर समय सुहाउँदो र आवश्यकतानुसार जनतासँग सरोकार राख्ने विकासका काम गर्न मन्त्री श्रेष्ठले नगरसभाका सबै सदस्यलाई आग्रह गर्नुभयो ।
कामपा उपप्रमुख सुनीता डङ्गोलले आगामी आर्थिक वर्षका लागि रु २५ अर्ब बढीको बजेट प्रस्तुत गर्नुभएको थियो । आज प्रस्तुत भएको बजेट माथि यही असार १७ गते शुक्रबार छलफल हुने कार्यतालिका रहेको छ ।

