भक्तपुर। चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले चाँगुनारायणमा भइरहेको अवैध जग्गा खण्डीकरण एवं जग्गा प्लटिङले भोलिका पुस्ताले सराप्ने बताउनुभएको छ । गैरसरकारी संस्था महासङ्घ भक्तपुर शाखा र राष्ट्रिय मानव अधिकार सञ्चार प्रतिष्ठान ललितपुरले संयुक्त रुपमा आज आयोजना गरेको ‘विपद् व्यवस्थापनमा स्थानीय सरकारसँग नागरिक समाजको अन्तरक्रिया’मा उहाँले  चाँगुनारायण र सूर्यविनायक नगर नयाँ सहरका रुपमा विकास हुँदै गरेकाले त्यसलाई व्यवस्थित गर्दै लैजानुपर्ने बताउनुभयो । 

अहिले नै बस्ती व्यवस्थित गर्नु आवश्यक रहेको भन्दै उहाँले चाँगुनारायणले अबको ५० देखि १०० वर्ष पछाडिसम्मका लागि नगरपालिका कस्तो बनाउने भनेर सुरक्षित नगर, बस्न लायक नगर र नमूनाको नगर बनाउने गरी दीर्घकालीन योजना ल्याउने बताउनुभयो । आफ्ना नगरवासीलाई विपत्तिबाट कसरी जोगाउने र प्राकृतिक विपत्ति आइहाल्यो भने पनि त्यसबाट कसरी जनधनको क्षति हुनबाट रोक्ने तथा खोज तथा उद्धार र राहत वितरणको काम तत्काल गर्नेबारेमा चाँगुनारायण नगरपालिकाले पूर्ण रुपमा तयारी अवस्थामा रहेको प्रमुख खत्रीले बताउनुभयो । 

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका सहमहामन्त्री एवं भक्तपुर जिल्ला सभापति मनोज थापाले स्थानीय तहमा प्राकृतिक जोखिमको अवस्था, व्यवस्थापनको चुनौती, तयारी र सरकारले व्यवस्थापन गरेको नीति लगायतका स्थानीय सरकारले चाल्नुपर्ने कदमबारे कार्यपत्र प्रस्तुत गर्नुभयो ।

त्यस अवसरमा मध्यपुरथिमि नगरपालिकाका नगर कार्यपालिका सदस्य शर्मिला विश्वकर्मा, नेपाल पत्रकार महासङ्घ भक्तपुरका सल्लाहका एवं निवर्तमान अध्यक्ष पुष्करराज बुढाथोकी, गैसस महासङ्घ भक्तपुरका अध्यक्ष एवं कार्यक्रमका सभापति नारायणप्रसाद न्यौपाने, उपाध्यक्ष अनिता पाण्डे, प्रतिष्ठानका कार्यक्रम अधिकृत मदन अधिकारी लगायतले सबै स्थानीय तहले आफ्नो नगरमा कस्ता विपत्तिको जोखिममा रहेको छ, त्यसको पहिचान गरि आवश्यक पूर्वतयारीमा जुटेर जनधनको क्षति हुनबाट रोक्ने गरी तयारी गर्नुपर्नेमा जोड दिनुभयो ।