महेन्द्रनगर। सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा पाँच वर्षदेखि माथि १२ वर्षमुनिका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइने भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक मीनराज जोशीले पहिलो चरणमा यहाँको कैलाली, कञ्चनपुर र डडेल्धुरामा बालबालिकालाई कोरोना विरुद्धको फाइजर खोप लगाइने बताउनुभयो।

 “कोरोना विरुद्धको खोप बालबालिकालाई लगाउने राष्ट्रिय कार्यक्रमअनरूप पहिलो चरणमा तीन जिल्लाका पाँच वर्षदेखि माथि १२ वर्षमुनिका बालबालिकालाई लगाउने तयारी छ”, जनस्वास्थ्य निरीक्षक जोशीले भन्नुभयो, “दोस्रो चरणमा बाँकी छ जिल्लामा साउन महिनाले उक्त खोप लगाइनेछ ।” उहाँले केन्द्रमा खोप आएपछि जिल्लामा पठाएर स्कूलमा गएर उक्त खोप लगाउने तयारी रहेको बताउनुभयो ।

८७ प्रतिशतले लगाए खोप

त्यसैगरी कञ्चनपुरमा कोरोना विरुद्धको खोप ८६.२ प्रतिशतले लगाएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप इन्चार्ज जनक कुवँरले यहाँ दोस्रो मात्रा गरेर ८७ प्रतिशतभन्दा बढी स्थानीयवासीले कोरोना विरुद्धको खोप लगाइसकेको बताउनुभयो । “कोरोना विरुद्धको पहिलो मात्रा ७८ प्रतिशतले लगाएका छन् ।” कुवँरले भन्नुभयो, “बुष्टर डोज यहाँ ३६ प्रतिशतले लगाएको तथ्याङ्क छ ।”

उहाँले खोप प्रगतिमा सुदूरपश्चिमका नौ जिल्लामध्ये कञ्चनपुर पहिलो नम्बरमा रहेको बताउनुभयो । कोरोनाको सङ्क्रमण न्यून रहे पनि यहाँको गड्डाचौकी नाकामा भने स्वास्थ्य कार्यालयले नियमित कोरोना परीक्षण र सावधानीबारे सचेतना फैलाइरहेको छ । केही दिनअघि यहाँ तीनमा कोरोना सङ्क्रमण देखिएको थियो । भारतको राजधानी नयाँ दिल्लामा सङ्क्रमण बढिरहेका बेला दूरीका हिसाबले नजिक पर्ने गड्डचौकीमा सतर्कता अपनाइने स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ।