काठमाडौं। नेपाल चेम्बर अफ कमर्शले लिमिटेड कम्पनी खोल्दा ४९ प्रतिशत शेयर सर्वसाधरण लगानीकर्तालाई दिनुपर्ने माग गरेको छ ।

राजस्व परामर्श समितिद्वारा सोमबार आयोजित कार्यक्रममा  चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले लिमिटेड कम्पनी स्थापना गर्दा ५१ प्रतिशत संस्थापक र बाँकी ४९ प्रतिशत शेयर सर्वसाधरण लगानीकर्तालाई दिनुपर्ने बताउनुभएको हो।

“लिमिटेड कम्पनीको शेयरमा सर्वसाधारणलाई समेट्दा सर्वसाधारणलाई फाइदा पुग्नुका साथै वित्तीय सन्तुलन पनि कायम गर्न सहयोग पुग्छ”, उहाँले भन्नुभयो। संस्थापक शेयरधनी र सर्वसाधरण लगानीकर्ताबीच ५१ र ४९ प्रतिशतको हिस्सा हुने गरी नीतिगत व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो।

अध्यक्ष मल्लले लिमिटेड कम्पनी खोल्दा सर्वसाधरण लगानीकर्तालाई प्राथमिकतामा राख्ने गरी नीतिगत व्यवस्था हुन सके यसबाट सेवा क्षेत्र थप व्यवस्थित हुने बताउनुभयो। सेवा क्षेत्रमा सर्वसाधरणको लगानी आउन सकेमात्र यसको तरलता सिर्जना गर्ने अध्यक्ष मल्लको भनाइ छ।

धेरै विद्युत् खपत गर्ने ठूला उद्योगका लागि मात्रै सहुलियत दिने बजेटमा उल्लेखित व्यवस्था साना तथा घरेलु र कृषिजन्य उद्योगमा पनि लागू गर्नुपर्ने माग सो अवसरमा गरिएको थियो।