रस्नालु। गोकुलगंगा गाउँकार्यपालिकाको दोस्रो बैठक नवनिर्वाचित अध्यक्ष काजी बहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको छ। नवनिर्वाचित पदाधिकारीसहित गाउँकार्यपालिकाको दोस्रो बैठक सोमबार सम्पन्न भएको हो।
सोमबार सम्पन्न बैठकमा वडा नं. ६ का वडा अध्यक्ष चन्द्र बहादुर सुनुवारलाई गाउँपालिकाको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ।
गाउँ कार्यपालिकाको दोस्रो बैठकले नयाँ आर्थिक वर्ष २०७९/८० को बजेट तर्जुमाका लागि यही असार २ गतेसम्म सबै वडाहरूले योजना पेश गर्नुपर्ने समयसीमा तोकेको प्रवक्ता सुनुवारले बताउनु भयो । साथै नयाँ आर्थिक वर्षको बजेट तर्जुमाका लागि असार ३ र ४ गते बिषयगत समितिहरुमा छलफल गर्ने ६ गते कार्यपालिकाको बैठक संचालन गर्ने र ८ गते आर्थिक बर्ष २०७९/८० निति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय भएको बताउनु भयो।
गाउँकार्यपालिकाको बैठकले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६५ बमोजिम स्थानीय राजश्व समिति गाउँपालिकाका नवनिर्वाचित उपाध्यक्ष उषादेवी कार्कीको संयोजक्तवमा सात सदस्यीय समिति गठन गरेको छ। त्यस्तै ऐन को दफा ६६ बमोजिम नवनिर्वाचित गाउँपालिका अध्यक्ष काजी बहादुर खड्काको संयोजक्तवमा स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति गठन गरेको छ।
नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमामा केन्द्रीत गाउँकार्यपालिकाको दोस्रो बैठकले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दपा ६७ बमोजिम बजेट तथा कार्यक्रम तर्जुमा समिति गठन गरेको छ। उक्त समितिको संयोजक उपाध्यक्ष उषादेवी कार्की रहनु भएको छ।
त्यस्तै ऐनको दफा १४ बमोजिम विभिन्न पाँचवटा समितिहरू समेत गठन गरिएको प्रवक्ता सुनुवारले बताउनु भयो। बैठकमा लेखा समिति, विद्यायक समिति, स्थानीय न्यायिक समिति गठन भएका छन्।
बैठकमा योजना अनुगमन तथा सुपरिवेक्षण समिति र स्थानीय दररेट निर्धारण समिति लगायत अधिकांश समितिमा गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्काको संयोजकत्वमा गठन भएका छन्।

