झापा। विश्व वातावरण दिवसका अवसर पारेर आज मेचीनगर–१० धुलाबारीमा शुभारम्भ अभियानले ‘डोको डस्बिन’ वितरण गरेको छ। वातावरण स्वच्छ र धुलाबारी बजारलाई सफा बनाउने उद्देश्यले अभियानले डोको डस्बिन वितरण गरेको हो।
धुलाबारी चोक बजारका पसलबाट निस्कने फोहरमैलालाई व्यवस्थापन गर्ने उद्देश्यले अभियानले पसल अगाडि डोकोको डस्बिन राखिदिएको छ। यसअघि पनि अभियानले धुलाबारी बजारलाई हरियाली बनाउने उद्देश्यले प्रत्येक पसल अगाडि गमलामा थुपीको बिरुवा रोपनकार्य गरेको थियो ।
अभियानका अध्यक्ष केपी शिवाकोटीले सो डस्बिन खरिदका लागि कर्णाली बचत तथा ऋण सहकारी संस्था र ज्योति विकास बैंकले सहयोग गरेको बताउनुभयो।
यसैगरी, थोप्लेविरान सामुदायिक वनले आजै विभिन्न जातका तीन हजार बिरुवा रोपन गरेको छ । सामुदायिक वन परिसरमा उपभोक्ता स्वयम् उपस्थिति भएर सो बिरुवा रोपिएको हो।

